प्रसंग १
२०७५ भदौमा नेपालका पाँचवटा बैंकले ७० प्रतिशत चिनियाँ लगानी रहेको होङ्सी शिवम् सिमेन्टलाई १६ अर्ब लगानी गर्ने सम्झौता गरे।
एनएमबीको अगुवाइमा भएको उक्त ऋण लगानी सम्झौतामा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले हस्ताक्षर गरेका छन्। उक्त उद्योगमा एनएमबीले ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुले ३ अर्ब, एभरेष्टले १ अर्ब २५ करोड र एसबीआईले १ अर्ब रुपैयाँ ऋण लगानी छ।
प्रसंग २
त्यस्तै बिहीबार अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएको छ। भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगमले भारतीय तथा नेपाली बैंकसँग ऋण लिई निर्माणको लागत जुटाएको हो। यसमा नेपाली दुई बैंकले १५ अर्ब बढी ऋण लगानी गर्ने सम्झौता गरेका छन्। सम्झौताअनुसार एभरेष्ट बैकले १० अर्ब २० करोड र नबिल बैंकले ५ अर्ब १२ करोड लगानी गर्नेछन्।
विदेशी कम्पनीमा नेपाली बैंकले ठूला लगानी गरेका यी दुई प्रसंग उदाहरणका रुपमा यहाँ प्रस्तुत गरिएको हो। यिनै प्रसंग कोट्याउँदै नेपालमा विदेशी लगानी भन्ने तर नेपाली बैंकको ऋण किन भन्ने प्रश्न धेरैले गरिरहेका छन्।
000
हामीले लगानीकर्ता बैंक तथा विज्ञहरुलाई विदेशी लगानीको नेपालमा भइरहेको अभ्यास कति जायज भन्ने प्रश्न गर्दा दुई किसिमको धारणा सुन्न पाइयो। उद्योगीले यसको विरोध गरे भने बैंकरहरुले यसको बचाउ। तर विज्ञले भने यसलाई नराम्रो मान्न नहुने पनि तर्क गरे।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा उद्योगी उमेशलाल श्रेष्ठ यस्तो अभ्यासलाई गलत मान्छन्। उनले यस किसिमको लगानी अभ्यासको सरकारी नीति गलत भएको बताए।
‘यो गलत भइरहेको छ। विदेशी लगानी भनेर आउनेहरुले पूर्ण पुँजी पनि ल्याउनुपर्छ। नेपाली बैंकबाट ऋण लिएपछि केकाे विदेशी लगानी?’, उनले भने, ‘हामीलाई विदेशी व्यवस्थापन चाहिएको हो। प्रविधि त हामीले पनि ल्याएकै छौँ। के हामीले प्रविधि नल्याई उद्योग चलाएका छौं र?’ श्रेष्ठ ‘छद्मवेशी’ विदेशी लगानीकर्तालाई नेपाली ऋण दिन नहुने बताउँछन्।
नबिल बैंकका सीईओ अनिलकेशरी शाहको भने यस सन्दर्भमा फरक धारणा छ। उनी विदेशी कम्पनीलाई नेपाली बैंकभन्दा पनि नेपाली बैंकलाई विदेशी ठूला कम्पनी चाहिएको बताउँछन्।
‘विदेशी ठूला कम्पनीमा लगानी गर्ने हाम्रो पनि इच्छा हुन्छ’, उनले भने, ‘अनुभव बटुल्नको लागि ठूला आयोजनामा लगानी गर्दा धेरै कुरा सिक्न सकिन्छ। यसको लागि किताब पढेर हुँदैन।’
विदेशी ठूला कम्पनीमा लगानी गरेको अनुभवले आगमी दिनमा नेपाली ठूला उद्योगमा लगानी गर्न फाइदा पुग्ने उनको भनाइ छ।
‘हामीले भारत, चाइना, कोरियाको ठूला योजनामा लगानी गर्न त सक्दैनौँ। नेपालमा आएको ठूला आयोजनामा लगानी गर्न पाउनुपर्छ। हामीहरु विदेशी कम्पनीको पार्टनर हुन पाउँदा एकदमै खुसी छौं’, उनले नेपालखबरसँग भने।
के भन्छन् विज्ञ ?
अर्थविज्ञ तथा पूर्वअर्थसचिव रामेश्वर खनाल विदेशी लगानी आउँदा पैसा मात्रै नभई प्रविधि, व्यवस्थापन र सम्पूर्ण समन्वय गर्ने क्षमता पनि भित्रिने बताउँछन्।
‘सबै लगानी नेपाली बैंकबाट गरेका पनि होइनन्, आफ्नो स्वपुँजी पनि ल्याउँछन्’, उनले भने, ‘मुलुकलाई आवश्यक पर्यो भने विदेशी कम्पनीलाई ऋण दिन्छ। उदाहरणको लागि चीनको संघाईमा टेस्ला कम्पनीले कारखाना बनायो। टेस्लालाई संघाईमा उद्योग स्थापना गर्नको लागि चीन सरकारले सहुलियतपूर्ण ऋण दियो।’
चीनमा ठूला कम्पनी हुँदाहुँदै टेस्लामा लगानी गर्नुमा टेस्लाको प्रविधि चीनमा भित्र्याउँदा अरु उत्पादकहरुलाई पनि सहयोग पुग्ने भएकाले चीनले सघाएको खनाल बताउँछन्।
‘होङ्सी सिमेन्ट यहाँ स्थापना गर्दा नेपालमा नभएको उच्च प्रविधिसहित आएको छ। उसले प्रविधि मात्रै होइन आवश्यक पर्यो भने तिब्बतमा सिमेन्ट निर्यात गर्न पनि सक्छ’, उनले भने, ‘अमेरिकाले समेत विदेशी कम्पनीलाई आफ्नो देशमा ल्याउन ऋण दिलाउन सहयोग गर्छ। जसले रोजगारीसहित धेरै कुराको फाइदा हुन्छ।’
विदेशी कुनै ठूलो लगानी आउँछ भने हाम्रोबाट केही ऋण लगानी गर्दा फरक नपर्ने उनको धारणा छ।
नेपाली व्यवसायीले ऋण नै नपाउने तर विदेशी कम्पनीले पाउने कुरा कति जायज भन्ने प्रश्नमा उनको जवाफ छ–
‘नेपाली बैंकले नेपालमा लगानी गरेकै छन् नि ! बाख्रापालनको लागि भनेर घडेरी किन्ने, उद्योग चलाउँछु भनेर गाडी किन्ने व्यवसायी छन्, नेपालमा। यस्ता मान्छेले गुनासो गरेको अलग कुरा हो। बैंकको चाहना आफ्नो लगानी नडुबोस्, ब्याज समयमै प्राप्त होस् भन्ने चाहन्छ।’
‘ठूला उद्योग स्थापना गर्ने, विदेशी लगानीकर्तालाई आकर्षक गर्ने पनि आन्तरिक बजारबाट केही हिस्सा ऋण खोज्छ। मूल कुरा राष्ट्रिय उद्देश्य पूरा भयो कि भएन त्यो हेर्ने हो। ठूला विदेशी कम्पनी नेपालमा लगानी गर्दा नेपाली व्यवसायीले ऋण पाएनन् भन्ने कुरा मनासिब होइन’, उनले भने।
विदेशी कम्पनी नेपालमा आएर आर्थिक वृद्धि, रोजगारी वृद्धि, विदेश निर्यात गर्छ भने त्यसलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया