नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको कार्यशैलीको तिखो आलोचना गरेका छन्।
बिहीबार बसेको संघीय संसद्अन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोजित छलफलका क्रममा उनले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका हुन्।
‘गृहमन्त्री फुर्सदिलो देख्छु। संसदीय समितिमा समय नदिने, तर हिरासतमा प्रहरीले राखेको मान्छे छुटाउन चाहिँ सक्ने?’, उनले भने, ‘कहाँ हो मन्त्रीहरूसँग हामीले सवाल जवाफ गर्ने ठाउँ?’
उनले पञ्चायतकालमा धनुषाको झिझामा हुने डकैतीको प्रसंग निकाल्दै नेपालको राजनीतिमा उनीहरू जस्तै चरित्र भएका हावी हुने अवस्था आएको बताए।
‘झिझाका डाकाहरूलाई राजनीतिको मूलधारमा ल्याउन आवश्यक छैन’, उनले भने, ‘धनुषाको झिझा भन्ने ठाउँ छ। त्यहाँका डाकाहरू पञ्चायतकालमा डकैती गर्थे। उनीहरूको पेशा नै लुटपाट गर्ने थियो। तिनीहरूको काम नै त्यही थियो। तर अहिले नेपाली राजनीतिमा झिझाका डाकालाई किन हावी हुन दिइयो?’
उनले अहिले तिनै झिझाका डाका राजनीतिमा हाबी हुनपर्ने स्थिति सिर्जना गरिएको भन्दै कटाक्ष गर्न भ्याए।
Shares

प्रतिक्रिया