नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर एक जना मन्त्री विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएको छ।
बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा व्यक्तिका नाममा पारेर अर्बौ भ्रष्टाचार गरेको भन्दै तत्कानीन उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो।
अख्तियारले दायर गरेको मुद्दामाथि प्रतिक्रिया जनाउँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको निर्णयलाई सिरानीमुनी राखेर एक मन्त्रीलाई मुद्दा चलाएको टिप्पणी गरेका छन्।
उनले ट्विट गर्दै भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय, एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपूर्जा। मुद्दा कसलाई? विजय गच्छदारलाई?’
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2020श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.
उनले एनिमल फार्ममा मा जर्ज अर्बेलको 'सबै जनावर समान हुन्छन् तर, केही विशेष समान हुन्छन्’ भन्ने भनाइलाई समेत कोड गर्दै प्रतिपक्षी दलमाथि भेदभाव गरेको बताएका छन्।
शर्माले नाम उल्लेख नगरी नेकपाका महासचिव विष्णु पौडेलको जग्गालाई उन्मुक्ति दिएर कांग्रेसका नेता गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाएका हुन्।
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएलगत्तै गच्छदारको सांसद पद बुधबारबाटै निलम्बन भएको छ।

प्रतिक्रिया