ad ad

राजनीति


बालकुमारी घटनाले अनेरास्ववियू स्तब्ध, भन्यो- राज्यले बल प्रयोग गर्नु गलत

बालकुमारी घटनाले अनेरास्ववियू स्तब्ध, भन्यो- राज्यले बल प्रयोग गर्नु गलत

नेपालखबर
पुस १४, २०८० शनिबार १०:१३, काठमाडौँ

कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै शुक्रबार ललितपुरमा भएको आन्दोलनका क्रममा प्रहरीको कुटाइ र गोलीबाट दुई युवकको ज्यान गएकोप्रति सत्तारुढ नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले दुःख व्यक्त गरेको छ।

साथै बेरोजगारीका कारण असन्तुष्ट युवाहरूको समस्या संवादबाट हल गर्नुको साटो राज्यले बल प्रयोग गर्नु अन्यायपूर्ण भएको ठहर अनेरास्ववियूले गरेको छ। घटना भएको दिन शुक्रबार साँझ अनेरास्ववियूकी अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गरी प्रहरीको गोली लागेर दुई होनहार युवाको मृत्यु तथा आन्दोलनकारीहरूबाट मन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा भएको आगजनी घटनाप्रति दुःख व्यक्त गरेकी हुन्।

‘दक्षिण कोरियामा पानीजहाज निर्माण कम्पनीमा आवेदन दिएकाहरूले उत्पादन क्षेत्रमा समेत भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर भएको युवाहरूको आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिका कारण प्रहरीको गोली लागी दुईजना होनहार युवाहरू सुजन रावत र वीरेन्द्र शाहको दुःखद मृत्यु भएको घटनाप्रति अनेरास्ववियू स्तब्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकै क्रममा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला चढेको गाडीमा भएको आगजनीप्रति अनेरास्ववियू दुःख प्रकट गर्दछ।’ 

बेरोजगारीका कारण बाध्यता बनेको वैदेशिक रोजगारी, यसमा आउने सीमित अवसर र त्यसमा हुने अपारदर्शितालगायत कारणले युवाहरूमा असन्तुष्टि व्याप्त रहेको उल्लेख गर्दै अनेरास्ववियूले विज्ञप्तिमा लेखेको छ, ‘यस्ता असन्तुष्टिहरूलाई पारदर्शी विधि र संवादबाट हल गर्नुपर्नेमा राज्यले बल प्रयोग गर्ने कुरा न्यायोचित होइन भन्ने अनेरास्ववियूको ठहर छ।’

बेरोजगारीका कारण उत्पन्न भएका र हुनसक्ने सम्पूर्ण परिस्थितिप्रति समयमै गम्भीर बन्दै सार्वजनिक लगानी र उद्यमशीलताका योजनामार्फत मुलुकभित्रै रोजगारीको प्रबन्धका लागि ठोस कदम चाल्न पनि अनेरास्ववियूले सरकारसँग माग गरेको छ। 

‘साथै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगारका सन्दर्भमा आवश्यक प्रक्रिया र रोजगार अनुमति प्रणाली (ईपीएस) लगायतका परीक्षाहरूलाई समेत पारदर्शी र व्यवस्थित बनाउन अनेरास्ववियू सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .