ad ad

राजनीति


राष्ट्रिय सभा चुनावका लागि ७ जिल्ला न्यायाधीश निर्वाचन अधिकृतमा नियुक्त, को कहाँ?

राष्ट्रिय सभा चुनावका लागि ७ जिल्ला न्यायाधीश निर्वाचन अधिकृतमा नियुक्त, को कहाँ?

नेपालखबर
पुस १४, २०८० शनिबार १०:३३, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्ति गरेको छ। 

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जना जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतको पदमा नियुक्ति दिएको हो। 

नियुक्त निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ। 

आयोगका अनुसार कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद वास्तोला, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत तोकिएको हो। 

हेर्नुहोस् सूची

राष्ट्रिय सभामा ६ वर्षे अवधि पूरा गरेका २० सदस्य आगामी फागुन २० देखि बिदा हुँदै छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सबैभन्दा बढी ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र र अर्का एक जना राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल फागुन २० मा सकिने भएको हो। 

यी हुन् पदावधि सकिन लागेका २० जना
एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई र राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी विमला राई पौड्यालसमेत एमालेका ९ जनाको ६ वर्षे कार्यकाल सकिँदैछ।

यस्तै, कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन्। 

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको पनि ६ वर्षको अवधि सकिएको छ।

एकीकृत समाजवादीबाट भौतिक राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्माको पदावधि सकिँदैछ। 

जनता समाजवादी पार्टीबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवको कार्यकाल फागुनमा सकिनेछ।  

उक्त स्थानमा नयाँ सदस्य चुन्न माघ ११ गते चुनाव गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .