सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुमका भूकम्प प्रभावितका टहरा निर्माणका लागि दोस्रो चरणमा १० दिन कार्यकर्ता खटाउने भएको छ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसले अस्थायी घर टहरा निर्माणको दोस्रो चरण मंसिर २६ गतेदेखि पुससम्म रहने जनाएको छ।
‘यस अवधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहनेछन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन्’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘लुम्बिनी प्रदेशका सबै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङको टोली अस्थायी घर टहरा निर्माणमा खटिनेछ।’
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको तर्फबाट १००० अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धता पूरा गर्न दोस्रो चरणमा कार्यकर्त खटाउन लागिएको पौडेलले बताए।
कांग्रेसले गत २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितलाई राहत अभियान थालेका थिए।
घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई निःशुल्क निर्माणकार्य गर्ने पौडेलले बताए।
Shares
प्रतिक्रिया