ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, हमास नियन्त्रणबाट विपिन जोशी छुटाउन पहल गर्ने

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, हमास नियन्त्रणबाट विपिन जोशी छुटाउन पहल गर्ने

कतार प्रस्थानका क्रममा परराष्ट्रमन्त्री साउद त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा। तस्बिर : उनको सचिवालय


नेपालखबर
मंसिर २३, २०८० शनिबार ९:३८, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्।

दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। 

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबार कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए। 

‘मन्त्रीज्यू, दोहा सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार जानु भएको हो‘, उनले भने, ‘कतार रहँदा हुने उच्चस्तरीय भेटमा उहाँले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राख्नुभएको छ।’

फाइल तस्बिर : विपिन जोशी

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका छ। 

मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। 

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे कुरा गरेका थिए। 

परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।  

परराष्ट्रमन्त्री साउदले शुक्रबार दिउँसो उनीसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहा गराउने प्रयासकै क्रममा टेलिफोन संवाद गरेको उनको सचिवालयले जनाएको छ। 

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत यकिन गरिदिन, उनको सरक्षाको प्रत्याभूति गर्न र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमै जोशीलाई प्राथमिकतामा पार्न आग्रह गरेका थिए। 

परराष्ट्रमन्त्री साउदले इजरायलसँग नेपालको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बताए। 

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिए।

यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए। 

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ छ। 

केही दिनअघि हमास र इजरायलबीच सातदिने युद्धविराम भएको थियो। त्यस क्रममा हमासले केही बन्धक रिहा गरेको थियो। तर त्यसमा विपिन परेनन्। युद्धविराम सकिएपछि अहिले फेरि लडाइँ भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .