बुधबार सुरु भएको नेकपा केन्द्रीय समितिको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै समापन भएको छ।
पाँच दिनसम्म चलेको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने, विवादित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे अध्ययन गर्न कार्यदल बनाउनेलगायतको निर्णय पनि गरेको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एमसीसीको चर्को विरोध गर्दै आएका स्थायी समिति सदस्य भीम रावल सदस्य छन्।
बैठकले नेकपाको नेतृत्वको आलोचना गर्नुका साथै पार्टीको कार्यदिशाबारे रहेका अन्योल चिर्न दबाब दिएको छ। केन्द्रीय समितिको बैठकले दिएको म्यान्डेट लागू गर्न नेतृत्व बाध्य भएपछि नेकपाले बहुपदीय प्रणाली कार्यान्वयन गर्नेदेखि समावेशी, समानुपातिक प्रणालीलाई समेत तत्काल पार्टीभित्र लागू गराउने निर्णय भएको छ।
केन्द्रीय सदस्यहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टीको वैचारिक कार्यदिशालाई समायानुकूल बनाउने प्रतिबद्धता जनाए।
यो बैठकमा केन्द्रीय सदस्यहरुले एकतापछि पहिलो पटक नेतृत्वसँग सोझै अन्तक्र्रिया गर्ने मौका पाएका थिए। सरकारको कामकारबाहीदेखि पार्टीभित्रका सबै विषयमा छलफल भएको थियो। बैठकपछि अधिकांश केन्द्रीय सदस्यहरुले खुसी भएको प्रतिक्रिया दिए।

बैठकमा देखिएका केही दृश्य र तिनले दिएका सन्देश यसप्रकार छन्ः
१. पार्टी एकतावद्ध
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बनेको थियो। तथापि, लामो समय पार्टीभित्र पूर्वसमूहको गुटबन्दी हुने आकलन गरिएको थियो। तर,सांगठनिक अन्तर्घुलन राम्ररी भएको सन्देश यो बैठकले दिएको अधिकांश केन्द्रीय सदस्यहरुले बताए।
‘बैठकमा पूर्व एमाले र पूर्व माओवादी भनेर भेद देखिएन,’ केन्द्रीय सदस्य रचना खड्काले भनिन्, ‘त्यसैले बैठकले एकताको सन्देश दियो। अन्तरघुलन राम्रो भएको देखायो। बाहिर हल्लाखल्ला भएर यो गुट र ऊ गुट भनिएपनि व्यवहारमा सबै एकताबद्ध भएर प्रस्तुत हुनुभयो।’
प्रधानमन्त्री ओलीले पनि केन्द्रीय समितिको बैठकले एकताको सन्देश दिएको बताएका थिए। बैठकको समापन गर्दै उनले पार्टी एकढिक्का भएको र यसले सकारात्मक उर्जा दिएको बताए। ‘नेकपा एकताबद्ध र सुदृढ छ, कसैले यसलाई तलमाथि गर्न सक्तैन। यस एकतालाई हामी अघि बढाउँछौं। यो एकता अघि बढ्छ,’ उनले भने।
ओलीले बैठक सकिएको घोषणा गर्दा गडगडाहट ताली बजेको थियो। बैठकस्थल राष्ट्रिय सभागृहको सबैभन्दा पछिल्लो लहरमा बसेका नेता सुरेश आलेमगर जोस्सिएर कराए, ‘कमरेडहरु, एकपटक नारा लगाउने हो कि?’
तर, तालीको गडगडाहटबीच उनको आवाज मञ्चसम्म पुगेन।
२. केन्द्रीय समिति शक्तिशाली
यो बैठकमा नेतृत्वमाथि केन्द्रीय सदस्यहरु हावी भएका छन्। नेतृत्वको आलोचना गर्नेदेखि ब्यानरमा अध्यक्षद्वयको तस्बिर राखेको विषयमा पनि उनीहरुले असन्तुष्टि जनाएका थिए।
यससँगै आइन्दा ब्यानरमा जिउँदा नेताको तस्बिर नराख्ने निर्णय भएको छ। केन्द्रीय सदस्यहरुले नेतृत्वलाई आच्छुआच्छु पारेको नेतृ खड्का बताउँछिन्।
‘तपाईंहरुले जित्नुभयो, अब पार्टीका नेताको फोटो यसरी राखिँदैन,’ प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले हार स्वीकार गरेका थिए।
शुत्रबार र शनिबार केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि धारणा राख्दै नेतृत्वको चर्को आलोचना गरेका थिए। कम्युनिस्ट पार्टीका नेता भएपनि दलालहरुसँग उठबस गरेको, जनताको मुद्दा बिर्सेको आरोप उनीहरुले लगाएका थिए।
सोही कारण नेतृत्वले आत्मआलोचनासहित प्रतिवेदन संशोधन गर्न तयार भएको केन्द्रीय सदस्यहरुको भनाइ छ।
त्यस्तै, केन्द्रीय सदस्यहरुको दबाबकै कारण नेतृत्व गलेर एमसीसीबारे कार्यदल बनाउने निर्णय भएको सांसद केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए। ‘नेताहरुले एमसीसी जसरी पास गर्ने सोचेका थिए, त्यो भएन,’ चौधरीले भने, ‘राष्ट्रिय हितविपरीत आएका विषयलाई रोक्न केन्द्रीय समिति सक्षम छ भन्ने देखियो।’ कार्यदलले सुझाव संकलन गरेर दश दिनभित्र प्रतिवेदन बुझाउने छ।
यसअघि स्थायी समितिले एमसीसीबारे निर्णय गर्ने जिम्मेवारी सचिवालयलाई सुम्पेको थियो। त्यसैले केन्द्रीय समितिको छलफलको एजेन्डामा यसलाई समावेश गरिएको थिएन। तर, अधिकांश केन्द्रीय सदस्य यसबारे बोलेका थिए।

३. प्रधानमन्त्री ओली रक्षात्मक
केन्द्रीय समिति बैठकमा नेताहरुले सबैभन्दा बढी आलोचना सरकारको गरेका थिए।
यो बुझेरै बुधबार बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओली रक्षात्मक रुपमा प्रस्तुत भएका थिए। उनले सरकारले राम्रो काम गरेको भन्दै फेहरिस्त पेस गरेका थिए। तर, समूहगत छलफलमा प्रायः सबैजसो केन्द्रीय सदस्यले सरकारको पर्फमेन्स राम्रो नभएको, जनताले कम्युनिस्ट सरकार भन्ने महसुस नगरेको, दलाली, भ्रष्टाचार बढेको भन्दै प्रधानमन्त्रीकै भनाइको खण्डन गरे।
शुक्रबार र शनिबार बोल्ने १५ वटै समूहका टोली नेताहरुले पनि सरकार कहाँ हरायो, चुनावमा व्यक्त प्रतिबद्धता किन पूरा भएनजस्ता प्रश्न गरेपछि प्रधानमन्त्री ओलीमाथि दबाब परेको थियो। आइतबारको बैठक समापनमा बोल्दै ओलीले सरकारले राम्रै काम गर्न खोजेको, भ्रष्टाचार नियन्त्रण गर्ने काम भइरहेको दाबी गरे।
बैठकमा सरकारको रक्षा कसैले गर्न नसकेको केन्द्रीय सदस्य चौधरी बताउँछन्। ‘सरकारको रक्षा कसैले गरेनन्, सबैको स्वर सरकारले कामै गरेन भन्ने भयो, सरकारको रक्षा गर्ने कोही नभएपछि प्रधानमन्त्री आफैँ डिफेन्सतिर लाग्नुपर्यो,’ उनले भने।
यो बैठकले एकल नभई सामूहिक नेतृत्वको म्यान्डेट दिएको अर्का केन्द्रीय सदस्य युवराज चौलागाईंको भनाइ छ।
‘एक्लै अघि बढ्न खोजे समस्या निम्तिन्छ भन्ने प्रधानमन्त्रीले बुझ्नुभएको छ। बैठकले सामूहिक नेतृत्वको म्यान्डेट दिएको छ,’ उनले भने
४. सीमा समस्यामा अडान
भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका विषयमा कूटनीतिक माध्यमबाट छलफल गरी सीमा समस्यालाई दीर्घकालिन रुपमा अन्त्य गर्न तथा वर्तमान नेपालको नक्सा परिवर्तन गरी ती सबै ठाउँहरु पर्नेगरी नयाँ नक्सा सार्वजनिक गर्न केन्द्रीय सदस्यले दिएको सुझाव कार्यान्वयन हुने भएको छ।
प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले भारतले कात्तिक १६ गते जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नमान्ने र नेपालको नयाँ नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिने बताए।
राजनीतिक प्रतिवेदनमा पनि अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्ने क्रममा प्रयोग गरिएका शब्दावली परिवर्तन गरिएको छ। कूटनीतिक मर्यादाको ख्याल राखेर शब्द चयन गरिने बताइएको छ।

५. नेतृत्वमा युवा
राजनीतिक प्रतिवेदन र विधान तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न बनाइएको १५ समूहमध्ये अधिकांश टोली नेता युवा थिए।
३० जनाको समूहबाट सर्वसम्मत रुपमा छानिएका उनीहरुले जसरी अध्यक्ष प्रचण्डसामू जसरी आफ्नो टोलीको धारणा राखे, त्यसले युवाहरु नेतृत्व गर्न सक्षम रहेको पुष्टि गरेको बताउँछन्, केन्द्रीय सदस्य युवराज चौलागाईं।
‘नेतृत्व युवा पुस्ताले गरेको खण्डमा सर्वसम्मत निर्णय हुने, स्पिरिट अनुसार काम हुने देखिएपछि आगामी दिनमा पार्टीको नेतृत्वमा उनीहरु आउने सम्भावना देखिएको छ,’ चौलागाईंले नेपालखबरसँग भने।
पचास वर्षमुनिका नेताहरु आएभने उनीहरुले कम्युनिस्ट आन्दोलन अगाडि बढाउने र अन्य नेता बिग्रेपनि आन्दोलन तुहिँदैन भन्ने देखाएको खड्काले विश्लेषण गरिन्।
पार्टीलाई स्थापित गर्ने मियोको रुपमा युवा नेताहरु पार्टीमा उदाएको चौधरीले बताए।
६. कार्यदिशा अझै अस्पष्ट
नेकपाले जनताको जनवादलाई पार्टीको कार्यदिशा र कार्यक्रम भनेर व्याख्खा गरेको छ। तर, त्यो भनेको के हो, व्याख्या गरिएको छैन। बैठकमा केन्द्रीय सदस्यहरुले कार्यदिशा अस्पष्ट भएको, त्यसका लागि कुनै कार्ययोजना र कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका थिए।
यसबारे जवाफ दिँदै अध्यक्ष प्रचण्डले महाधिवेशनसम्मका लागि ल्याएकाले थुप्रै कार्यक्रम प्रतिवेदनमा अटाउन नसकेको बताए। उनले विचार र राजनीतिक कार्यदिशाबारे अझै छलफल गर्न बाँकी रहेको स्वीकार पनि गरे।
पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट विचार र सोही अनुसार कार्ययोजना नभएकै कारण नेकपा संक्रमणमा रहेको केन्द्रीय सदस्य हरि दाहालले बताए।
‘जनताको जनवाद कार्यदिशा हो भने, त्यसका लागि कार्यक्रम खै त?’ उनले प्रश्न गरे, ‘समाजवादमा पुग्ने भन्ने, जनताको जनवाद पनि भन्ने अनि कार्यक्रम नहुने हो भने फगत गफ हुन्छ। त्यसलाई सच्याउनुपर्छ।’
पार्टीलाई सही दिशामा अघि बढाउने काम कार्यदिशाले गर्ने भएकाले यसमा पहिला प्रस्ट हुनु जरुरी रहेको नेता लेखनाथ न्यौपानेले बताए।

७. राष्ट्रिय अभियान-महाधिवेशन घोषणा
अध्यक्ष प्रचण्डले २०७७ चैत २५ देखि ३० सम्म महाधिवेशन गरिछाड्ने प्रतिबद्धता जनाएका छन्।
त्यसअघि उसले सबै कमिटिमा महिला सहभागिता सुनिश्चित गर्नेदेखि तीनमहिने अभियान गर्ने निर्णय गरेको छ।
एकता भएको तीन वर्षपछि नेकपाको महाधिवेशन हुनेछ, जसले अर्को कार्यकालका लागि नेतृत्व, वैचारिक कार्यदिशलगायतका महत्वपूर्ण निर्णय गर्नेछ।

प्रतिक्रिया