उखु मिल र सरकारबाट भुक्तानीमा ढिलाइ भएपछि उखु क्षेत्रमा बिचौलियाको बिगबिगी बढ्दै गएको छ।
बिचौलिया-ठेकेदारले किसानलाई उखु मिल बन्द हुने, भुक्तानीमा थप जटिलता आउने त्रास देखाएर कमभन्दा कम मूल्यमा उखु किनिरहेका खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।
सरकारले आर्थिक वर्ष २०७६–-७७ का लागि उखुको समर्थन मूल्य अनुदानसहित प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । तर ठेकेदारले प्रतिक्विन्टल ३ सयदेखि ४ सय ३५ रुपैयाँमा खरिद गरेका छन्।
उखु काट्ने र लोडिङसमेत तिराउने हुँदा किसानको हातमा क्विन्टलको २ सय रुपैयाँ मात्रै पर्ने गरेको छ। ‘मिलबाट समयमै पैसा पाउँदैनौं, त्यसैले दलाललाई प्रतिक्विन्टल ३ सय रुपैयाँमा बिक्री गर्यौं,’ सर्लाहीका किसान सुरेन्द्र महतोले भने, ‘उखु काट्ने र गाडीमा लोड गर्नेलाई ज्याला दिँदा हातमा २ सय रुपैयाँ मात्र पर्छ।’
उनले चिनी मिलबाट २०७४ सालकै भुक्तानी पाएका छैनन्। सरकारले अनुदानबापत दिने भनेको रकम पनि पाएका छैनन्।
दलालले नगद नै दिएकाले सस्तोमै भए पनि बिक्री गरेको उनले बताए। ‘मल, रोपाइँका लागि लिएको ऋण दिन हतार हुन्छ,’ महतोले भने, ‘ठेकेदारले नगद नै दिए, त्यसले घर खर्च गर्न सजिलो भयो।’
महतो जस्तै सर्लाही रामनगरका सञ्जीव यादवले पनि प्रतिक्विन्टल साढे ३ सय रुपैयाँमा मात्रै बिक्री गर्नुपरेको गुनासो गरे। सरकारले तोकेको मूल्य थाहा भए पनि घरको काम चलाउन सस्तोमै उखु बेच्नुपरेको उनको भनाइ छ।
‘गाउँकै साहुबाट ऋण लिएको थिएँ। मासिक ३ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ,’ उनले भने, ‘ऋण तिर्न, बच्चाको स्कुल फी तिर्न र घरखर्चकै लागि ठेकेदारलाई सस्तोमै बेचें।’ उखु खेतीकै लागि २ लाख रुपैयाँ ऋण लिएको उनले बताए।

प्रतिक्रिया