ad ad

राजनीति


सरकारले छिमेकी मुलुकहरूसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : ओली

सरकारले छिमेकी मुलुकहरूसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : ओली

नेपालखबर
मंसिर २०, २०८० बुधबार १६:२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्।

राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो। पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबीसमेत गरे। 

‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता निहुरिएको अवस्था छ। र, नेपाल सरकारले हाम्रा छिमेकीहरूसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन। यस्तो अवस्थामा हामी नेपाली छौं। राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरूमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ,’ उनले भने, ‘जसलाई फेरि उठाउनु पर्नेछ। भ्रष्टाचारलाई अन्त्य गर्नुछ। अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि पहिलो मुद्दा नै लगाउन सरकार मान्दैन। समाती हाल्यो भने माफी मिनाहा गर्छ। मुद्दा खारेज गर्छ। अदालतले फेरि हस्तक्षेप गरेर मुद्दा लगाउनुपर्ने स्थिति भएको छ।’

अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो।

‘प्रहरी प्रशासन, कर्मचारीतन्त्रले ठिक ढंगले काम गर्न पाएको छैन। हस्तक्षेपमाथि हस्तक्षेप छ। यस्तो खालको अवस्था छ। कर्मचारीतन्त्रलाई दुरुपयोग गरिएको छ। अहिले देशको अवस्था अत्यन्तै नाजुक छ,’ उनले भने, ‘यस नाजुक अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने। आज देशको राजनीति अन्यौलग्रस्त छ। देशको राजनीतिक निराशायुक्त छ। देशको राजनीति अस्थिर र अराजक बनेको छ। देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ। त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा छ। र, बिग्रँदो छ।’

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .