नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहबाट ४३ थान पासपोर्ट फेला परेको छ।
गत मंसिर १४ र १८ गते दुई पटक गरी पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गर्दै प्रहरीले उनीहरूबाट बरामद भएका पासपोर्टदेखि नगदसम्मका बारेमा जानकारी गराएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकी सुजता दाहालको कार्यालयबाट २७ थान र ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट बरामद भएको हो।
त्यस्तै, दाहालको कार्यालयबाट १४ लाख १८ हजार ५ सय रुपैयाँ र अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले बताएको छ।

अधिकारीको कार्यालयबाट ल्यापटप १ थान, प्रिन्टर १ थान र मोबाईल ७ थान पनि बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाललाई पक्राउ गरेको थियो।
त्यस्तै सोमबार (मंसिर १८) गते द्रोण डाँगी पक्राउ गरेको थियो।
सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको छ।
युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन्।
Shares

प्रतिक्रिया