ad ad

समाज


उता रुसमा राजकुमार मारिए, यता परिवारको सपना भत्कियो

डेढ वर्षमै टुहुरी भइन् छोरी
उता रुसमा राजकुमार मारिए, यता परिवारको सपना भत्कियो

राधिका अधिकारी
मंसिर २१, २०८० बिहिबार ११:३८, काठमाडौँ

दोलखाको मेलुङ गाँउपालिका–६, का राजकुमार रोका व्यवसायमा घाटा भएर निम्तिएको आर्थिक भारबाट मुक्त हुने सपना बोकेर रुस गएका थिए। 

उनकी ३७ वर्षीया श्रीमतीले पनि श्रीमान् विदेश गएपछि छोराछोरीको उज्वल भविष्य सपना बोकेकी थिइन्। उनीहरुका १६ वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्। 

गाउँमै व्यवसाय गर्दै आएका राजकुमार आफ्नो अवस्थाबारे परिवारमा कमै कुरा शेयर गर्थे। दाजु सुमन रोका हिजोआज ठिकठाक देखिने भाइको व्यवसाय कहिलेबाट बेठिक भयो भनेर सोचिरहन्छन्। भाइ रुस र युक्रेनबीचको युद्धमा मारिएको खबर आएपछि उनलाई थुप्रै मान्छेले फोन गरिरहेका छन्। फोन उठाउनुअघि उनको मुटुमा गाँठो पर्छ। राजकुमार सुमनका कान्छा भाइ हुन्। 

गत कात्तिक २५ गते राजकुमारसँग सुमनको अन्तिम पटक कुरा भएको थियो। उनी रुसमा पनि ठिकठाक भएको बताउँथे। 

‘अनुहार हँसिलै थियो। सरसफाइ गर्न लागेको भन्यो। सबै राम्रो छ। थोरै आर्थिक अवस्था उक्सिएपछि फर्कन्छु भन्थ्यो, अहिले मृत्युको खबर पढेर किरियामा बस्नु परेको छ’ सुमनले मलिन स्वरमा सुनाए।

सुमनका अनुसार भाइ ६ वर्षदेखि गाउँमै व्यापार गर्दै आएका थिए। भन्छन्, ‘हुर्किएको भाइको छोरो नै ठूलो भइसक्यो, देखिँदा सबै राम्रो छ, जस्तो देखिन्थ्यो। तर, उसको आर्थिक अवस्था ठिक रहेनछ। अवस्था बिग्रिएको कुरा कहिले भनेन। ऊ अलिक अन्तर्मुखी स्वभावको थियो। बिग्रिएको आर्थिक अवस्था सुधार्न गएको मान्छे नै सकियो। अब के बाँकी रह्यो र!’

रुस गएर त्यहाँको युद्धमा भाग लिन नेपाल सरकारले अनुमति दिएको छैन। तर भाइ कसरी रुस गए आफूलाई थाहा नभएको सुमनले सुनाए।

‘कोमार्फत कसरी गयो, केही थाहा भएन। के–के सपना देखेर गएको थियो थाहा छैन। बुहारीसँग अलिअलि कुरा भएको होला, अहिले उनी बोल्न सक्दिनन्,’ सुमन निराश सुनिए। 

रुसी सेनामा छोरो भर्ती भएको खबर सुनेर बुवा–आमा चिन्तित थिए। कात्तिक २५ गते पारिवारिक रुपमा कुरा गरेर फेरि फोन गर्ने वाचा गरेका छोराको फोन कुरिरहेका राजकुमारका ७६ वर्षीय बुवा र ६८ वर्षीया आमाका आँखा आँसुले भरिएका छन्।

‘कान्छो फर्किएर आउला र खुशी हुन पाइने कल्पना गरिरहेका बुवाआमाले उसको अनुहार पनि देख्न पाउनु भएन। २ वर्ष पनि नपुगेकी छोरीले बुवाको अनुहार चिन्न पाइनँ। भाइ बितेको कुरा विश्वास गर्नै सकेको छैन’, सुमनले सुनाए। 

भाइको फोन कुरिरहेको सुमनको परिवार गत सोमबार सरकारले समाचार सार्वजनिक गरेपछि उनीहरु छाँगाबाट खसेजस्तै भएका छन्। यो घटनाले सुमनको परिवारमा मात्रै होइन, गाउँभरी सन्नाटा छाएको छ।

‘भाइको मृत्युको खबरले यसै विक्षिप्त छु, बुझ्न अनेक फोन आइरहेका छन्। म कसरी परिवारको हालत बताऊँ?’, सुमन प्रश्न गर्छन्। 

राजकुमार मध्यमवर्गीय परिवारका सदस्य हुन्। सुमन भन्छन्, ‘हाम्रो परिवारलाई खान–लाउन पुग्छ। छोराछोरीको सुदूर सपनाले भाइलाई रुस पुर्‍यायो सायद। जसको सुदूर सपना देखेर देश छोड्यो, उनीहरुलाई नै टुहुरो बनायो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .