राजनीति


रास्वपाको ३ दिने संयुक्त बैठक : अनुशासनको एजेन्डामा मौन, ४ बुँदामा निर्णय सार्वजनिक

रास्वपाको ३ दिने संयुक्त बैठक : अनुशासनको एजेन्डामा मौन, ४ बुँदामा निर्णय सार्वजनिक

नेपालखबर
मंसिर १३, २०८० बुधबार २१:१७, काठमाडौँ

महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज सम्पन्न भएको छ। रास्वपाले पहिलोपटक उपत्यकाबाहिर राखेको यो बैठक तीन दिनसम्म चलेको हो।

राजनीतिक, सांगठनिक र अनुशासनसम्बन्धी मुख्य एजेन्डा बनाएर सुरु भएको यो बैठक विविध ४ बुँदे निर्णय गर्दै सकिएको छ। 

पार्टी प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा सभापतिको राजनीतिक प्रतिवेदन पारित भएको, विभिन्न पदाधिकारी थप गरिएको, केन्द्रीय समिति सदस्यको संख्या बढाइएको, केन्द्रीय सचिवालय गठन गरेको उल्लेख छ। 

महामन्त्री ढकालले प्रस्तुत गरेको वैचारिक प्रतिवेदन पनि पारित भएको निर्णयमा उल्लेख छ। तर, अनुशासनसम्बन्धी मुख्य एजेन्डाबारे के निर्णय भयो भन्नेचाहिँ कुनै उल्लेख छैन।

पार्टीका नेताहरूको आचरण र रिपोर्ट कार्डबारे विज्ञप्ति मौन छ। 

यसअघि पार्टीका सांसदसमेत रहेका ढाकाकुमार श्रेष्ठ ‘घूस’ मागेको अडिओमा मुछिएपछि कारबाही गरिएको थियो। तर यस प्रकरणबारे राज्यका कुनै निकायले छानबिन गरेको छैन। पार्टीले गरेको भनिएको छानबिन पनि गोप्य राखिएको छ। 

यसबारे पार्टी बैठकमा केही छलफल नभएको र यो विषयले प्रवेश नै नपाएको बैठकमा सहभागी एक सांसदले नेपालखबरसँग भने। 

‘ढाकाकुमार मात्रै होइन, अनुशासनको बारेमा आरोप लागेका अन्यका हकमा पनि यस बैठकमा छलफल भएन,’ ती सांसदको दाबी छ, ‘यो बैठकमा सभापतिको प्रतिवेदनबारे डिस्कसन भयो, संगठनात्मक सुधार र पदाधिकारी गठनबारे सहमतिमा निर्णय भएका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .