ad ad

राजनीति


प्रचण्डसँगै दुबई जान लागेका ‘पपुलर जेन्टल’ को हुन्?

प्रचण्डसँगै दुबई जान लागेका ‘पपुलर जेन्टल’ को हुन्?

नेपालखबर
मंसिर १३, २०८० बुधबार १५:४४, काठमाडौँ

बिहीबार (१४ मंसिर) सुरु हुने संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा अनौठो अंग्रेजी नामका व्यक्ति पनि सहभागी हुने भएका छन्।

प्रधानमन्त्री प्रचण्डको भ्रमण दलको सदस्यका रूपमा दुबई जान लागेका ती व्यक्ति हुन्- पपुलर जेन्टल। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, ती व्यक्तिलाई भ्रमण दलको एघारौँ वरीयतामा राखिएको छ।

प्रधानमन्त्री प्रचण्डको ‘वातावरण विज्ञ’ को भूमिकामा रहेकाले उनलाई प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी गराइएको हो।

स्रोतका अनुसार, प्रधानमन्त्रीले उनलाई तीन महिनाअघि आफ्नो ‘वातावरण विज्ञ’ को रूपमा नियुक्ति दिएका थिए।

अंग्रेजी नाम अर्थात् पपुलर जेन्टल (लोकप्रिय भलाद्‌मी) भए पनि उनको थरचाहिँ नेपाली नै छ। उनको पूरा नामथर ‘पपुलर जेन्टल भुसाल’ हो। तर, प्रधानमन्त्रीको भ्रमण दलमा उनको थर उल्लेख गरिएको छैन, नाम ‘पपुलर जेन्टल’ मात्र उल्लेख छ।

उनको अनौठो अंग्रेजी नामका कारण प्रधानमन्त्रीको सचिवालयका अन्य सदस्य पनि अचम्ममा पर्ने गरेका छन्। नामबारे जिज्ञासा राख्नेलाई उनले आफ्नो न्वारानको नाम नै यही रहेको बताउने गरेका छन्।

‘वातावरण विज्ञ’ का रूपमा प्रधानमन्त्रीको सचिवालयमा रहे पनि उनी माओवादी पृष्ठभूमिका व्यक्ति भने होइनन्। स्रोतका अनुसार, पारिवारिक रूपले उनी कृषिमन्त्री वेदुराम भुसालसँग निकट छन्।

‘तर, उनलाई माओवादी उपाध्यक्ष पम्फा भुसालको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्नुभएको हो’ स्रोतले भन्यो, ‘गैरमाओवादी पृष्ठभूमिका भए पनि विषयविज्ञता र उपाध्यक्ष भुसालको सिफारिसमा नियुक्त गरिएको हो।’

अस्ट्रेलियाको चार्ल्स स्टुअर्ट विश्वविद्यालयबाट  विद्यावारिधि गरेका पपुलर जेन्टलले आफ्नो फेसबुक पेजमा न्युजिल्यान्डको युनिभर्सिटी अफ क्यान्टबेरीबाट स्नातकोत्तर उत्तीर्ण गरेको तथा इसिमोडको पूर्वकार्यक्रम निर्देशक रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .