राजनीति


एमसीसीमा मधेशवादी दल विभाजित : राजपा पक्षमा, समाजवादी विमर्शमा

एमसीसीमा मधेशवादी दल विभाजित : राजपा पक्षमा, समाजवादी विमर्शमा

शैलेन्द्र महतो
माघ १९, २०७६ आइतबार ३:३७,

संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपा भित्र अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा मतमतान्तर चलिरहेको छ।

प्रधानमन्त्री केपी शार्मा ओलीले एमसीसी देशको हितमा रहेकोले यसलाई सदनबाट अनुमाेदन गर्नुपर्ने धारणा राखिसकेका छन्। प्रमुख पतिपक्षी दल काँग्रेस पनि एमसीसी अनुमाेदन गर्ने पक्षमा जोडबल गरिरहेको छ।

यस विषयमा मधेशवादी दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आधिकारिक धारणा भने अझै बाहिर आएको छैन।

एमसीसीको विषयमा समाजवादी पार्टी र राजपाका नेताहरुको भने फरक फरक मत छ।

राजपा नेपालका नेताहरुले एमसीसी देशको हितमा रहेकोले विवादको विषय बनाउनु भन्दा कार्यान्वयनमा जोड दिनुपर्ने पक्षमा छन्। राजपाका संयोजक मण्डलका सदस्य सरतसिंह भण्डारीले एमसीसीलाई अनावश्यक विवाद बनाउन खोजिएको बताए।

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘यो नेपालले आज गरेको सन्धि होइन। एमसीसीको सहयोग लिनको लागि केहि सर्तहरु राखिएको छ। जुन सर्त नेपालले पुरा गरेकाले पाएको हो। नेपालले अन्तर्राष्ट्रिय जगतसँग सम्बन्ध बनाएर आर्थिक सहयोग, अनुदान लिएर विकास गर्नुपर्छ। नेपालको लागि यो सकरात्मक कुरा हो। विकासको विषयलाई झगडा बनाउनु हुँदैन।’

मुलुकुको विकास र प्रगतिको लागि आएका आयोजनालाई स्वागत गर्नुपर्ने राजपा नेपालका संयोजक मण्डलका अर्का सदस्य राजेन्द्र महतोले बताए। ‘त्यो अमेरिकन सहयाेग हो, तर जे भएपनि त्यो नेपालकै विकासको लागि आएको हो। त्यसलाई स्वागत गर्नुपर्छ,’ उनले भने।

समाजवादी पार्टीका नेताहरुले भने एमसीसी कार्यान्वयन गरेर अमेरीकासँग बढी नजिक र छिमेकी मुलकुहरुसँग टाढा भएर देशको विकास नहुने धारणा व्यक्त गरिरहेका छन्।

समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभाका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका डा. सुरेन्द्र यादवले एमसीसी लागू गर्नुभन्दा पहिले चीन, भारत र अमेरिका तीनै देशसँग सन्तुलन बनाएर अघि बढ्न के गर्नुपर्छ भन्ने कुरा बिचार गर्नुपर्ने बताए।

‘यदि एमसीसी मार्फत अमेरिकाले नेपालमा हैकम चलाएर चाइना र इण्डियालाई डिस्टर्व गर्न खोज्यो भने त्यो त्यो हाम्रो मुलुकको लागि घातक हुन सक्छ,’ निबर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत रहेका यादवले भने, ‘त्यस कारण एमसीसीलाई गम्भीरतापूर्वक अध्ययन गरी यो देशको हितमा छ वा छैन, के के परिमार्जन गर्न सकिन्छ। त्यसमा ध्यान दिएर मात्र पास गर्नु उपयुक्त हुन्छ। हाम्रो पार्टीभित्र पनि यहि विमर्श भइरहेको छ।’

समाजवादी पार्टीका अर्का सांसद तथा केन्द्रीय सदस्य उमाशंकर अरगरियाले एमसीसीको विषयमा पार्टीभित्र छलफल भइरहेको बताए। ‘छलफलपछि मात्र आधिकारिक धारणा पार्टीले सार्वजनिक गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad