समाज


सुनसरी, सर्लाही र चितवनमा भएका सवारी दुर्घटनामा ८ को मृत्यु, १७ घाइते

सुनसरी, सर्लाही र चितवनमा भएका सवारी दुर्घटनामा ८ को मृत्यु, १७ घाइते

नेपालखबर
माघ १९, २०७६ आइतबार ४:७,

सुनसरी, सर्लाही र चितवनमा गए राति र आज (आइतबार) बिहान भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १७ जना घाइते भएका छन्।

सुनसरीको इनरुवामा आइतबार बिहान काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र बाग्लुङबाट पूर्व जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अरु ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले ले जनाएको छ। मृतक र घाइतेको पहिचान खुलेको छैन।

त्यसैगरी सर्लाहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ जाँदै गरेको बिआर ३० एच ६७९८ नम्बरको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकमा नम्बर नखुलेको सवारी साधनमा ठोक्किँदा मलंगवा २ का २० वर्षीय उपेन्द्र साह सोनार र सोही ठाउँका २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

साहको घटनास्थलमै र यादवको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

मोटरसाइकललाई चारपाङ्ग्रे गाडीले ठक्कर दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

लालबन्दी नगरपालिका-१६ भोर्लेनीस्थित रानीगञ्ज–परवानीपुरको भित्री सडकखण्डमा ना १९ प २१६० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्ध महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीया जोककुमारी थापा रहेकी प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लालबन्दीको हेल्थ केयर प्रालिमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

त्यस्तै चितवनमा भएका दुई दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाका एक शिशु रहेका प्रहरीले जनाएको छ।

रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन।

त्यसैगरी खैरहनी नगरपालिका ३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र सोही दिशाबाट आइरहेको ना ६ ख १५०६ नम्बरको ट्रक ठक्कर ठोक्किँदा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad