ad ad

राजनीति


नेकपाकै सांसदकाे प्रश्नः गृह मन्त्रालयको काम हाम्रा घर भत्काउँदै हिँड्ने हो ?

नेकपाकै सांसदकाे प्रश्नः गृह मन्त्रालयको काम हाम्रा घर भत्काउँदै हिँड्ने हो ?

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ७:७,

सत्तारुढ दल नेकपाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काएकोमा गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले गृह मन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप पनि लगाए। छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको उनको आरोप छ। उनले कुनै एक व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन नपाइने तर्क गरे।

सरकारले कर्णाली र सुदूरपश्चिमका जिल्लाका छाउगोठ भत्काउने अभियान नै चलाएको छ। त्यस्तै छाउगोठमा महिला राख्नेलाई कानुनी कारबाही गर्न थालेपछि सांसद महतले यसको विरोध गरेका हुन्।

हेराैँ भिडियो

‘हाम्रो गाउँ घरतिर एउटा उखान छ– काम नपाए बुहारी कुकुरको पुछ कन्याऊ। अहिले हाम्रो गृह मन्त्रालयको पनि यस्तै छ’, उनले भने, ‘छाउगोठका नाममा घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जना मान्छेको होटलमा मृत्यु भएको छ। होटल भत्काउदै हिड्ने? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ बस भत्काउदै आगो लगाउदै हिड्ने?’

उनले सरकारले गर्नु पर्ने काममा ध्यान नदिई गर्ने नपर्ने काममा जोड गरिरहेको उनको आरोप थियो। उनले कर्णालीका विभिन्न जिल्लामा जाने नुन, औषधी बेचिएको, भ्रष्टाचार भएको बताउँदै त्यस्तालाई कारबाही नगरेर घर भत्काउँदै हिँडेको बताए।

‘कर्णालीका जिल्लामा जाने नून, औषधि बेचिएको छ, त्यसमा भ्रष्टाचार भएको छ। उनीहरूलाई समात्‍नु छैन’, उनले भने, ‘पुल र बाटोको बेहाल छ, ठेकेदार कहाँ छ? पत्तो छैन। तिनलाई पक्राउ गरेर कारबाही गर्नुपर्दैन? स्कुल, अस्पतालको अवस्था के छ? त्यो हेर्नुपर्दैन? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काइयो। अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने? के हेरेर बसेको छ गृहमन्त्रालय? काम पाएको छैन यसले?’

उनले छाउगोठ भत्काएकोमा विरोध गर्दै आफ्नो भनाइ राख्दै गर्दा प्रतिनिधिसभा बैठक हासोले गुञ्जयमान भएको थियो। छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदहरु पनि हासिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .