ad ad

कारोबार


५० उद्योग राख्न मिल्ने तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

५० उद्योग राख्न मिल्ने तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

प्रकाश न्यौपाने
माघ १७, २०७६ शुक्रबार ६:५९,

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनाउन लागिएको औद्योगिक ग्रामको गुरुयोजना तयार भएको छ। वडा नंं. १०, सग्रहवास्थित रोहिणी नदी किनारमा रहेको २० बिघा सार्वजनिक जमिनमा औद्योगिक ग्राम बनाउने गरी गुरुयोजना निर्माण गरिएको हो।

औद्योगिक ग्रामको गुरुयोजना डेकोर स्टुडियो काठमाडौंले तयार गरेको हो। यहाँ नगरपालिकाले संघ सरकारसँग औद्योगिक ग्राम बनाउने प्रस्ताव गरेको थियो।

संघ सरकारले केही महिनाअघि मात्रै मुलुकका ३२ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको छ। संघ सरकारको योजनामा तिलोत्तमा नगरपालिका पनि समेटिएको छ। संघ सरकारले औद्योगिक ग्राम बनाउन घोषणा गरेका ३२ वटै स्थानीय तहलाई ९२ लाखका दरले अनुदान दिएको थियो।

औद्योगिक ग्रामको गुरुयोजनाबारे नगरपालिकाले यस क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्ताहरुसँग सुझावसमेत लिइसकेको छ। इन्जिनियर नितेश पौडेलले अन्तर्राष्ट्रिय मापदण्डअनुसार वातावरणमैत्री र स्मार्ट औद्योगिक ग्रामको डिजाइन बनाएको जानकारी बताए। ३० प्रतिशत हरियालीसहित बन्ने औद्योगिक ग्राममा ५० वटा साना तथा मझौला उद्योग स्थापना गर्न सकिने जनाइएको छ।

औद्योगिक ग्राममा स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा मझौला उद्योगलाई प्राथमिकता दिइने योजना प्रमुख इन्जिनियर प्रदीप वनले बताए। औद्योगिक ग्राम बनाउन प्रदेश प्रदेश ५ सरकार र तिलोत्तमा नगरपालिकाले ८०÷८० लाख रुपैयाँ छुट्याएका छन्।

गुरुयोजनामा पहुँच मार्ग, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, उद्योगका उत्पादन प्रदर्शनी र विक्री कक्ष, प्रशासनिक भवन, डे केयर सेन्टर, बैंक तथा वित्तीय संस्था, चमेना गृह, पार्किङ र आराम कक्ष बनाइने छ। यसका लागि २ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने नगरपालिकाको अनुमान छ। औद्योगिक ग्राम क्षेत्रमा सडक ११ मिटर चौडाईको दुई लेनको दुबैतिर फुटपाथ भएको हुनेछ। यहाँ कम्तीमा ५ सय जनाले रोजगारी पाउने जनाइएको छ।

चालू आर्थिक वर्षभित्र संघ, प्रदेश र आफूहरुले छुट्याएको बजेट खर्च गरिसक्ने योजना बनाएको नगर प्रमुख बासुदेव घिमिरेले बताए। उनले छलफलमा आएका सुझावलाई समेट्दै संघ सरकारसंँगको सम्झौता अनुसार डीपीआर बनाएर काम सुरु गर्न टेण्डर गर्ने बताए। अबको दुई महिनाभित्रै टेण्डर हुने उनको भनाइ छ।

प्रदेश ५ मा तिलोत्तमा नगरपालिकासहित सैनामैना नगरपालिका, सुनवल नगरपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, तुलसीपुर उपमहानगरपालिका र खजुरा गाउँपालिकामा औद्योगिक ग्राम बनाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .