नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन्।
लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँको शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताएका हुन्।
‘गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ। असंवैधानिक रूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो’, सिंह भन्छन्, ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो।’
नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए।
वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे।
जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने सिंहले बताए।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सिंहले भने, ‘सबै दल मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको प्रभावकारी कार्यान्वयनमार्फत तीनै तहका सरकारबीच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’
सो अवसरमा नेता सिंहलगायत कांग्रेसका नेता, कार्यकर्ताले गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए।
Shares

प्रतिक्रिया