नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।
ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ।’
सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गरे।
उनले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका हुन्।
महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन् गरेर काम गर्नुपर्ने बताए।
संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो।
कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गरेकी थिइन्भ ने समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गरेका थिए।
चारदिने भ्रमणमा लागि महासचिव गुटेरेसले यही कात्तिक १२ गते नेपाल आएका हुन्।
Shares

प्रतिक्रिया