नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन्।
सांसदसँग रासस संवादमा उनले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन्।
मतदाताले कानुन निर्माणमा कति प्रगति भयो तथा बाँकी के–कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानुन निर्माणमा चुनौती खडा गरेको बताइन।
सांसद खातुनले भनिन्, ‘स्वार्थको राजनीतिक कारण एकअर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ।’
उनले भनिन्, ‘विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न पर्यो। जल्दाबल्दो समस्या त्यही हो। बाढी पनि समस्याकैरुपमा छ। पुल आवश्यक छ।’
खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पुर्याएको धारणा राखिन्।
हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पुर्याउन आवश्यक रहेको सुझाव दिइन्।
विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिब र जनताको सेवामा समर्पित व्यक्ति अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको बताइन्।
मुलुकको शिक्षा क्षेत्र र उद्योगधन्दा पर्वर्दनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको जनाउँदै उनले देशभित्रै स्वरोजगारमुखी सबैखाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गरिन्।
प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्यसमेत रहनुभएकी सांसद खातुनले बर्दिया सबैखाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमुना जिल्लाका रुपमा स्थापित रहेको विश्वास व्यक्त गरिन्।
उनले भनिन्, ‘सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, संस्कृति र चाडपर्वलाई सम्मान गर्दै सबै समुदायको चाडपर्वमा सबै सहभागी हुने शुभकामना आदानप्रदान गरी भाइचाराको सम्बन्ध कायम गरेका छौँ।’ रासस
Shares

प्रतिक्रिया