ad ad

राजनीति


गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असोज २८, २०८० आइतबार १४:१५, चितवन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन्।

पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ।’

प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे।

‘अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ। तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्’, उनले भने।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उनको भनाइ छ।
नले भने, ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो। यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ।’

प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र ९२ प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै दुई वर्षभित्र शतप्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताइन्।

कार्यक्रममा शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको संयुक्तरूपमा उद्घाटन गरिएको हो।

शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाबाट भरतपुर महानगरपालिका वडा नं १७, १९ र २० का तीन हजार पाँच सय ६४ घरधुरीका १९ हजार चार सय ४२ जना लाभान्वित हुनेछन्। उक्त आयोजना रु ३७ करोड ९९ लाख ४७ हजार तीन सय १६ को लागतमा निर्माण गरिएको हो।
    
जखडीमाई सहलगानी खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं १० र ११ का तीन हजार तीन सय ६८ घरपरिवारका १३ हजार पाँच सय ५२ जना लाभान्वित हुनेछन्। विसं २०७७ असार ८ गते निर्माण सुरु भई विसं २०८० साउन ३० गते सम्पन्न भएको सो आयोजना निर्माणका लागि रु २७ करोड १७ लाख २४ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो।

दिव्यनगर खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिका–२६ ले साबिकको दिव्यनगर गाउँ विकास समितिका एक हजार आठ सय ५५ घरधुरीका नौ हजार दुई सय ७१ जना लाभान्वित हुनेछन्। विसं २०७८ असार ७ गते निर्माणको सम्झौता गरी विसं २०८० असोज ३ गते सम्पन्न गरेको हो। आयोजना निर्माणमा रु १० करोड ४४ लाख १७ हजार एक सय ९२ खर्च भएको छ।

कार्यक्रममा खानेपानी आयोजना निर्माणमा सहयोग पुर्याउने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना निर्देशक रत्न सापकोटा र समयमा काम सम्पन्न गरेकामा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .