ad ad

राजनीति


एमाले मधेश अधिवेशन : नेतृत्वमा सहमति नभए ४ बजे निर्वाचन प्रक्रिया थालिने

पोलिटब्युरो सदस्य सुमन प्याकुरेल र पुरुषोत्तम पौडेलले निर्वाचन लड्न नपाउने
एमाले मधेश अधिवेशन : नेतृत्वमा सहमति नभए ४ बजे निर्वाचन प्रक्रिया थालिने

नेपालखबर
असोज २५, २०८० बिहिबार १०:१८, काठमाडौँ

नेकपा एमालेको जनकपुरमा जारी मधेश प्रदेश अधिवेशनमा आजबाट नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ। 

हिजो (बुधबार)देखि जनकपुरस्थित महेन्द्रनारायण स्मृति भवनमा एमालेको प्रदेश अधिवेशन चलिरहेको छ। 

उद्घाटन सत्रपछि बुधबार राति ८ बजेदेखि नै बन्दसत्र सुरु भएको थियो। राति १० बजेसम्म चलेको बन्द सत्रले आर्थिक र राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। 

बन्द सत्रले मधेशको नेतृत्व चयनका लागि प्रदेश इन्चार्ज समेत रहेका एमाले सचिव योगेश भट्टराईको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरेको छ। 

जिल्लागत रुपमा पार्टीले प्राप्त गरेको समानुपातिक मत र पार्टी सदस्य संख्यालाई आधार मानेर मधेशका ८ वटै जिल्लालाई निर्वाचनमा भाग लिने र उम्मेदवार बन्न पाउने सदस्य संख्या निर्धारण गरिएको छ।

दलित, मुस्लिम, युवा, आदिवासी, जनजाति र महिलाको समावेशी प्रतिनिधित्व हुने गरी सबै जिल्लाको प्रतिनिधि संख्या निर्धारण गरिएको हो। यदि सहमतिमा नेतृत्व चयन नभए छनोट भएका प्रतिनिधि नै निर्वाचनमा उम्मेदवार बन्न र मतदानमा भाग लिनेछन्।

अहिले पार्टी नेतृत्वले आकांक्षीहरुसँग छलफल गरेर सर्वसम्मत ढंगले मधेश प्रदेशको नेतृत्व चयनको प्रयास गरिरहेको एमाले नेतृसमेत रहेकी मधेश प्रदेश सांसद शारदा थापाले जानकारी दिइन्। 

‘यहाँको माहोल हेर्दा सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन हुने सम्भावना न्युन देखिन्छ,’ थापाले नेपालखबरसँग भनिन्, ‘आज दिउँसो चार बजेसम्म पनि सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन नभए निर्वाचन प्रक्रिया सुरु हुने छ।’  

उनले अध्यक्षमा दाबी गर्ने नेताहरुको संख्या धेरै भएकाले सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको बताइन्। 

एमालेको मधेश प्रदेश कमिटी दुई सय १० सदस्यीय हुने छ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित पाँच सदस्यीय पदाधिकारी र बाँकी सदस्य रहनेछन्। प्रदेशको नेतृत्वमा आउन आधा दर्जनजति नेताले रुचि देखाएका छन्।

जसमा एमालेको पोलिटव्यरो सदस्य सुमन प्याकुरेल र पुरुषोत्तम पौडेलसमेत छन्। तर, पार्टी नेतृत्वको निर्देशन अनुसार बन्द सत्रले पार्टी पोलिटव्युरो सदस्यलाई प्रदेशको अध्यक्षमा दाबी गर्न नपाउने निर्णय गरेको कारण प्याकुरेल र पौडेल अध्यक्षको दौडबाट बाहिरिएका छन्।यसअघि उनीहरुलाई प्रदेश अध्यक्षको बलियो दाबेदारको रुपमा हेरिएको थियो। 

एमालेको प्रदेश अध्यक्षमा धनुषाका राजकिशोर यादव र लक्ष्मी नारायण यादव, सर्लाहीका रेवती पन्त र राजनारायण साह, सिराहाका चन्देश्वर मण्डल र पर्साका बिचारी यादवले इच्छा देखाएका स्रोतले जनाएको छ।

एमालेका निवर्तमान प्रदेश अध्यक्ष रामअवतार यादवले पनि सहमति भए आफू पुनः अध्यक्ष बन्ने इच्छा देखाएका छन्। 

पार्टीको मधेश इन्चार्जसमेत रहेका योगेश भट्टराई भने सकेसम्म सहमतिमै मधेश प्रदेशको नेतृत्व चयन गर्ने मनस्थितिमा छन्। उनले पर्साका विचारी यादव वा धनुषाका राजकिशोर यादव मध्येबाट एकजनालाई अध्यक्ष बनाउने पक्षमा सर्वसम्मत गराउने प्रयास गरिरहेका एक नेताले बताए। 

‘तर, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका प्रतिनिधि भने यस पटक धनुषाका नेतालाई प्रदेशको नेतृत्व दिने पक्षमा छैनन्,’ ती नेताले नेपालखबरसँग भने, ‘यसपटक सर्लाही वा पर्साका नेताले मधेश प्रदेशको नेतृत्व पाउने सम्भावना बलियो देखिन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .