इजरालयमा अलपत्र नेपालीको उद्धारका लागि जान लागेको जहाजको उडान समय परिवर्तन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीका अनुसार बिहीबार बिहान २ बजेका लागि उडानको तयारी गरिएको छ।
बुधबार बेलुकी ११ बजे उडान भर्ने तय भएको नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० विमान नेपाली समय अनुसार बिहीबार बिहान २ बजे उड्न लागेको हो।
मन्त्री किरातीका अनुसार जहाजको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको छ।
जहाज दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने बताइएको छ।
परराष्ट्रमन्त्री एनपी साउद पनि सो विमानमा चढेर इजरायल जाँदैछन्। बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री साउदको नेतृत्वमा उद्धारका लागि विमान पठाउने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयले पनि उडानबारे कुनै भ्रम सिर्जना नगर्न आग्रह गरेको छ।
‘भ्रमित नहोऔं। इजरायलका लागि नेपाल एयरलाइन्सको विमान राती २ः३० बजे उडान भर्दैछ,’ मन्त्री साउदको सचिवालयले भनेको छ, ‘विमानमा परराष्ट्रमन्त्री स्वयम् नेपाली नागरिकको उद्धारका लागि प्रस्थान गर्दै हुनुहुन्छ।’
Shares
प्रतिक्रिया