राजनीति


शीतल निवासमा रामकुमारी : नारायणकाजीलाई नमस्ते गरिन्, माधव र झलनाथतर्फ फर्केर हेरिनन्

शीतल निवासमा रामकुमारी : नारायणकाजीलाई नमस्ते गरिन्, माधव र झलनाथतर्फ फर्केर हेरिनन्

शीतल निवासमा रामकुमारीलाई नमस्कार फर्काउँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : विशाल कार्की


नेपालखबर
असोज ३, २०८० बुधबार १९:१, काठमाडौँ

संविधान दिवसको अवसर पारेर बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरे।

असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको ८ वर्ष पुगेर ९ लागेको अवसरमा शीतल निवासमा भव्य कार्यक्रम भइरहेको छ।

कार्यक्रममा सरकारका मन्त्रीहरू, कूटनीतिक नियोग, राजनीतिक दलका प्रमुखसहित उच्च पदस्थ कर्मचारी र नेताहरू पनि निम्त्याइएका छन् ।

उक्त कार्यक्रमका लागि बनाइएको मञ्चको पहिलो लहरमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का बसेका छन्।

दोस्रो लहरको दायाँतर्फ सरकारका मन्त्रीहरु छन्। यस्तै, बायाँतर्फ पूर्वप्रधानमन्त्रीसहित पार्टीका प्रमुखको कुर्सी मिलाइएको छ।

दोस्रो तहका नेताहरुलाई त्यसपछाडि लहरमा राख्न कुर्सी मिलाइएको छ। 

तेस्रो लहरमा पूर्वसभामुख तथा उपसभामुख राखिएका छन्। यस्तै चौथो लहरमा विभिन्न आयुक्तहरुलाई राखिएको छ। 

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री पाँच बजेतिर शीतल निवास आइपुगिन्।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नमस्कार गरिन्। श्रेष्ठले पनि हार्दिकतापूर्वक फर्काए।

तर, नारायणकाजी सँगै रहेका समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई उनले न त नमस्कार गरिन्, न त कुनै सम्बोधन गरेर बोलिन्।

अर्कातिर नेपाल र खनाल पनि समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्रीको आगमन हुँदा प्रतिक्रियाविहीन देखिन्थे।

नारायणकाजीलाई नमस्कार गरेकी उनी आफ्ना लागि व्यवस्थापन गरिएको सिटमा हतारिँदै गएर बसिन्। तर आफ्नै नेतालाई उनले फर्केर पनि हेरिनन्।

एकीकृत समाजवादीको भदौ ५–७ बसेको केन्द्रीय समितिको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो।

त्यसको विवरणसहित भदौ २८ गते नयाँ कार्यविभाजन गरिएको अन्तरपार्टी निर्देशन (अपानि) पनि अध्यक्ष नेपालले जारी गरेका छन्।

नयाँ जिम्मेवारीले सचिव झाँक्री युरोप,अमेरिका र ल्याटिन अमेरिका लगायत देश हेर्ने जिम्मेवारी पाएकी छन्। 

तर, उक्त जिम्मेवारीप्रति उनको असन्तुष्टि व्यापक छ। शीतल निवासमा देखिएको दृश्यले पनि उनमा ठूलै असन्तुष्टि रहेको देखाउँथ्यो।

झाँक्री एकीकृत समाजवादीका अध्यक्ष र सम्मानिन नेता खनाल दुवैसँग असन्तुष्ट रहेको उनले देखाएको व्यवहारबाट देखिन्थ्यो।

समाजवादी अध्यक्ष नेपालले पछिल्लो पटक जारी गरेको अपानिले पार्टीमा भुइँचालो नै ल्याएको छ। 

यसअघि एक पटक मन्त्री भएकी उनी ६ महिनामै बाहिरिनुपरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट थिइन्।

एमाले फुटाएर समाजवादी खोल्न निर्णायक भूमिका खेलेकी उनी अहिले अध्यक्ष नेपालसँग तीव्र असन्तुष्ट छिन्। उनीहरुको बोलचाल नै बन्द रहेको अवस्थाबीच केही दिनअघि अध्यक्ष नेपालले काम नगर्नेहरु पार्टीबाट निस्केर गए हुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .