ad ad

राजनीति


संस्थापन पक्षविरुद्ध आक्रामक हुने रणनीति बनाउँदै शेखर-गगन समूह

सरकार छ भन्ने अनुभूति हुन नसकेको निष्कर्ष
संस्थापन पक्षविरुद्ध आक्रामक हुने रणनीति बनाउँदै शेखर-गगन समूह

कांग्रेस संस्थापन इतर समूहको बैठकमा नेताहरू। तस्बिर : नेपालखबर


नेपालखबर
असोज २, २०८० मंगलबार १८:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको छ। 

मंगलबार बालुवाटारमा बसेको डा. कोइराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो। 

कांग्रेसको यही बिहीबारदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका एजेन्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए-नभएको समीक्षा गर्दै उक्त तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता दिलेन्द्रप्रसाद बडूले केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे छलफल केन्द्रित भएको बताए। 

उनले पार्टीलाई चलायमान बनाउन यसअघि तय गरिएका कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्नेमा आफूहरुको मत रहेको बताए।

उनले आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्न गर्नुपर्ने तयारीबारे पनि छलफल भएको जानकारी दिए। पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारीबारे पनि छलफल भएको नेता बडूले बताए।

‘सांगठनिक रुपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढिरहेको छ। एकचरणको कार्यक्रम पूरा भइसकेको छ। अब यसको समीक्षा गर्नुपर्छ। कार्यतालिका र कार्ययोजनालाई निरन्तर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘त्यसले नै पार्टीलाई चलायमान बनाउँछ। सबै संरचनालाई चलायमान बनाउनुपर्छ, अवरुद्ध गर्न दिनु हुँदैन।’ 

उनले नीति अधिवेशनका रुपमा महासमिति बैठक बोलाउने कुरा भएको पनि बताए।

‘महासमिति बैठकलाई व्यवस्थित गर्न सम्भावित तयारीबारे कुरा भयो। उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौँ’, उनले भने, ‘समयमा १५ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ। त्यसका लागि आवश्यक तयारी र क्रियाशील सदस्यताको वितरण, रेकर्ड अद्यावधिक भए नभएको हेर्नुपर्छ।’ 

उनले पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिकाको समीक्षा हुनुपर्ने बताए।

नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै त्यसबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकमा समीक्षा हुने पनि बताएका छन्। 

बैठकमा डा. शेखर कोइरला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेताहरु चन्द्रकान्त भण्डारी र मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य एवम् गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली लगायत सहभागी थिए। निम्ता गरिएका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने बैठकमा सहभागी भएनन्।

महाधिवेशनमा चुनाव लडेकालाई बोलाइयो
शेखर–गगन पक्षको बैठकेले गत १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबै नेताहरुसँग छलफल गर्ने भएको छ। सभापति शेरबहादुर देउवा समूह एकलौटी अघि बढेको भन्दै नयाँ रणनीतिका लागि इतर समूहले बृहत् छलफल तयारी थालेको हो। 

एक वर्षपछि गत साउन २ गते बसेको बैठकले विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समिति बैठक राख्ने निर्णय लिएको थियो। त्यहीअनसार बिहीबार केन्द्रीय कार्यसमिति बस्दैछ।

साउनमा बसेको बैठकमा संस्थापन क्षले एकलौटी गरेको भन्दै यसपटक इतर पक्ष आक्रामक भएर प्रस्तुत हुने रणनीति बनाउँदैछ।

साउनमाको केन्द्रीय कार्यसमितिमा कांग्रेसले पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसबेला दुई पक्षबीच सार्वजनिक रुपमै आरोप-प्रत्यारोप भएको थियो। 

यस पटक इतर पक्षले सत्तामा हुँदा हुँदै पनि कांग्रेस सरकारमा छ भन्ने अनुभूति गर्न नपाएको कुरालाई चर्काउने भएको छ। बैठकमा संस्थापनले सल्लाहबिना गतिविधि अघि बढाएकोमा पनि त्यसविरुद्ध रणनीति बनाउने निष्कर्ष निकालेको छ।

बैठकमा भ्रातृ संस्थाहरुको चुनाव रोक्ने गरी केन्द्रीय सदस्यहरु मनोनीत गरेको कुरा पनि उठेको थियो। भ्रातृ संस्था चलायमान बनाउनुभन्दा फुटाउने रणनीति संस्थापनले अख्तियार गरेको भन्दै प्रतिवादमा उत्रिने योजनामा पनि बैठकले बनाएको एक नेताले बताए।

इतर समूहले भ्रातृ संगठन नेपाल महिलना संघमा त केही जिल्लाहरुमा समानान्तर समितिको अभ्यास नै थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .