ad ad

राजनीति


राष्ट्रसंघको फोरममार्फत् नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वमाझ लैजान्छौँ : परराष्ट्रमन्त्री

राष्ट्रसंघको फोरममार्फत् नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वमाझ लैजान्छौँ : परराष्ट्रमन्त्री

नेपालखबर
असोज १, २०८० सोमबार ११:२४, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन्।

मन्त्री साउद संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका छन्। 

अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान आफूले प्रयास गरिरहेको बताए।

जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको दाबी गरे।

‘केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ,’ उनले भने।

गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे।

विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उनको भनाई थियो। 

मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।

अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै उनले भने, ‘तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु।’

अर्को एक प्रसङ्गमा उनले नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको बताए।

कार्यक्रममा पूर्वमन्त्री जीतेन्द्र देव, जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .