ad ad

राजनीति


साइबर सुरक्षाको कानुन बनाउने बाटो खुलेको छ : मन्त्री शर्मा

साइबर सुरक्षाको कानुन बनाउने बाटो खुलेको छ : मन्त्री शर्मा

नेपालखबर
भदौ ३०, २०८० शनिबार १९:३५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताएकी छिन्।

राष्ट्रिय युवा परिषद्को नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई देशभित्रै उत्पादन र सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन्।

‘एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीब्रताका साथ अघि बढ्नेछौं भने अर्कोतिर देशभित्र लाखौं युवाहरु उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रि तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं’ उनले भनिन्, ‘तसर्थ, आजको यो महत्वपूर्ण कार्यक्रममार्फत म आम युवाहरुलाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु।’

सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालमै पहिलोपटक साइबर सुरक्षा नीति पारित भएको बताए। ‘यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ। अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ,’ उनले भनिन्।

अहिले नेपालमा बौद्धिक पलायन ठूलो समस्याको रुपमा देखिन थालेको उल्लेख गर्दै उनले नेपाली युवाहरुलाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चित गर्ने क्षेत्र नै सूचना प्रविधि हुने बताइन्।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उल्लेख गर्दै उनले यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको जानकारी दिइन्।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा डिजिटलाइजेसनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उनले स्पष्ट गरिन्।

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सरकारको कूल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको स्पष्ट गरिन्।

सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्वपूर्ण आधार बन्दै गएको यो सन्दर्भमा यो क्षेत्रमा युवाहरुलाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवर्धनमा प्रोत्साहित गर्न यो वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको उनले जानकारी दिइन्।

‘सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रतिष्पर्धी क्षमता विकास, व्यवसायिकता बृद्धि, उच्च गतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाहरुबिचको समन्वय र सहकार्यमा जोड दिएको छ’ उनले भनिन्, ‘यो वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माताहतका निकायहरुको सहयोगमा सूचना प्रविधिको क्षेत्रमा छोटो प्रकृतिका व्यवसायिक तालिम दिने तयारी थालेको छ। यसले उद्यमशीलता र नवप्रवर्तनको बाटो खोल्ने मन्त्रालयको अपेक्षा रहेको छ।’

सूचना प्रविधिको अध्ययन अनुसन्धानमा लागेका संस्था र व्यक्तिलाई आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट हजारौं प्रतिभाहरु सहभागी हुने गरी राष्ट्रियस्तरको प्रतिष्पर्धा गराउने डिजिटल च्याम्पियनजस्ता कार्यक्रम गर्ने, आइटी एक्जिविसन गरेर सूचना प्रविधिको क्षेत्रमा भइरहेका गतिबिधिलाई एउटै थलोबाट सार्वजनिक गर्ने,  यो क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न छात्रवृत्ति, तालिमलगायतका कार्यक्रम पनि अघि सारिएको मन्त्री शर्माले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .