नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनको शोकमा सानेपास्थित मुख्यालय र देशभरका जिल्ला कार्यालयहरुमा दुई दिनसम्म झण्डा आधा झुकाउने भएको छ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकद्वारा बागमती प्रदेश सभाका पूर्व सदस्य कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै देशभर शोक मनाउने निर्णय लिएको हो।
कांग्रेसले २०१४ वैशाख २९ गते जन्मिएका कार्कीले पार्टी संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदान इतिहासमा स्मरणीय रही रहने जनाएको छ।
कार्कीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहीबार बिहान पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवननमा राखिएको छ। त्यसपछि उनको पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएर दाहसंस्कार गरिने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
स्वर्गीय कार्कीप्रति सम्मान प्रकट गर्दै बिहीबार र शुक्रबार दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय भएको पौडेलले बताए।
शुक्रबार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमै धादिङमा शोक सभाको आयोजना गरिने भएको छ।
Shares

प्रतिक्रिया