ad ad

राजनीति


जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौं : मन्त्री शर्मा

जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौं : मन्त्री शर्मा

नेपालखबर
भदौ १, २०८० शुक्रबार १८:३०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छिन्। 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममै रहेको बताइन्।

‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौं’, उनले भने, ‘जनयुद्धका कारण नेपालमा सारभूतरुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटरब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौं। जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटरब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो।’

मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताइन्। 

सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढाएको उल्लेख गर्दै उहाँले सेवाप्रवाहलाई सहज बनाउँदै लगेको बताइन्।

‘यसले गर्दा जनताबाट ब्यापकरुपमा समर्थन प्राप्त भइरहेको छ, तपाइँ जनतासँगै जोडिएका कार्यकर्ताहरुले सरकारले गरेका कामलाई थप स्थापित गर्न आवश्यक छ’, उनले भनिन्, ‘जनस्तरमा रहेका नेता कार्यकर्ताले सरकारका काम जनताबिच लैजाने र जनताका आवश्यकता सरकारसम्म प्रभावकारीरुपमा पुर्याउन सके सुशासन र समृद्धिको गति अझ तीब्ररुपमा अघि बढ्ने छ।’

यही आवश्यकता बोध गरेर पार्टी तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्न थालेको जानकारी दिँदै उनले सबै नेता कार्यकर्तालाई अभियानमा कटिबद्ध हुन पनि आग्रह गरिन्।

वर्तमान सरकारले धेरै क्षेत्रमा नयाँ तथ्य स्थापित गर्न खोजेको पनि उहाँले स्पष्ट गरिन्। 

‘लामो समयदेखि नेपालमा उच्च तहमा बसेकाहरुले ऐन कानुन नमाने पनि हुन्छ भन्ने खालको गलत तथ्य स्थापित हुन खोजिरहेको थियो, राज्यसत्तामा बसेर जे पनि गर्न पाइन्छ भन्नेजस्तो गलत तथ्य स्थापित हुँदै गएको थियो’– मन्त्री शर्माले भनिन्, ‘तर वर्तमान सरकारले निष्ठाको राजनीतिक मूल्य स्थापित गर्न खोजेको छ, उच्च तहमा सबेकाले अझ बढी नियम कानुन माननुपर्छ भन्ने तथ्य पनि स्थापित गर्न खोजिएको छ। यसको राजनीतिमा अर्थपूर्ण सन्देश छ।’

भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरु निरीह र कमजोर बन्नुपर्ने र उल्टै यसलेकेही गर्न सकेन भन्ने वुझाई स्थापित हुने,  तडकभडक र भड्किलोपनलाई शक्तिशाली देख्ने प्रवृत्ति स्थापित हुने उललेख गर्दै उहाँले जो जुन जिम्मेवारीमा छ, उसले इमानपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने सन्देश पनि वर्तमान सरकारले स्थापित गर्न खोजेको बताइन्। 

‘सरकारले अनियमितता र भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै इमान्दारिता र निष्ठाको राजनीति गर्नेहरुप्रति सम्मान र सत्कारको मान्यता स्थापित हुन थालेको छ। भ्रष्टाचार गरेपपछि एक न एक दिन कारबाहीको भागिदार बन्नैपर्ने रहेछ भन्ने तथ्य स्थापित हुन थालेको छ’, उनले भनिन्, ‘यसले तत्कालका लागि मात्र होइन, दीर्घकालीनरुपमा पनि नेपालमा सुशासन कायम गर्न महत्वपूर्ण आधार तयार गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .