ad ad

राजनीति


सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति नबनाइए एमालेले फेरि संसद्‍ अवरोध गर्ने

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति नबनाइए एमालेले फेरि संसद्‍ अवरोध गर्ने

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १४:८, काठमाडौँ

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभए प्रमुख प्रतिपक्षी नेकपा एमालेले फेरि संसद्‍मा अवरोध गर्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि बोल्दै एमालेका सचेतक महेश बर्तौलाले यसबारे जानकारी दिएका हुन्। 

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसद्‍मा आउन खोज्ने तर एमालेले आउन दिएन भनेर भ्रम छर्ने काम गरियो’, उनले भने, ‘गृहमन्त्रीको जवाफसँगै हाम्रा माग पनि समेटिएर आउनुपर्छ। यदि हामीले उठाएका उच्चस्तरीय छानबिन समितिको माग सम्बोधन भएनन् भने हाम्रो आन्दोलन जारी रहन्छ।’

बर्तौलाले सुन तस्करको नेक्सस र अन्तर्राष्ट्रिय जालो पत्ता लगाउन पनि उच्चस्तरीय समिति चाहिने बताए। 

‘नेपाल सुन तस्करका लागि स्वर्ग भएको छ। सरकार पक्षका मान्छेहरु सुन तस्करीमा एकपछि अर्को जोडिएपछि उच्चस्तरीय छानबिन समिति बनाउन डरायो’, उनले भने, ‘सरकारले सुन तस्करलाई जोगाउन खोज्यो। सरकारकै संरक्षणमा तस्करी भएको हो।’

एमालेले हङकङबाट तस्करी भएर सुन आउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहा हुँदा हुँदै पनि विमानस्थल भित्रबाट नसमातिनु रहस्यपूर्ण रहेको जनाएको छ।

‘राजस्व अनुसन्धान विभागका प्रमुखले उक्त सुन समातिसकेपछि प्रधानमन्त्रीलाई १० दिनअघि नै सूचना रहेको भनिसकेका छन्’ , उनले भने, ‘यो सेटिङको जालोमा सरकार परेको छ। यसमा एमालेलाई गलाउने र जनतामा भ्रम छर्ने काम गरिरहेको छ। तर सरकारकै संरक्षमा सुन तस्करी भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .