राजनीति


पारिलो घाममा भएको त्यो भेटले जुटायो सभामुखमा सहमति

पारिलो घाममा भएको त्यो भेटले जुटायो सभामुखमा सहमति

सागर न्यौपाने
माघ ५, २०७६ आइतबार १५:२०,

दुई वर्षअघि फागुनमा एमालेसँग एकता भागबण्डा गर्दा सभामुख पद माओवादीको भागमा पर्यो।

माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै अन्योलबिना त्यतिबेला आफु निकट रहेका कृष्णबहादुर महरालाई सभामुखमा चयन गरे।

बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोजमा सभामुख पदबाट राजिनामा दिए। सो पदमा अहिले फेरि प्रचण्डका अत्यन्त विश्वासपात्र अग्निप्रसाद सापकोटालाई आइतबार सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार बनाउने प्रस्ताव गरेको छ।

तर, यसपटक आफ्ना विश्वासपात्रलाई सभामुख चयन गर्न भने प्रचण्डलाई निकै सकसपूर्ण संघर्ष गर्नुपर्यो।

अत्यन्त भरपर्दो सम्बन्ध भएकै कारण प्रचण्डले सापकोटालाई सभामुख बनाउन चाहेका थिए भने प्रचण्डसँग उनको निकटताकै नै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झस्काउने कारण बन्यो। प्रधानमन्त्री ओलीले कार्यपालिकाका कैयौं मामिलाहरु सिधै ठोकिने हुँदा सरकारलाई बेलाबेला अप्ठेरो पर्दा व्यवस्थापिकाबाटै बाटो खुलाईदिनसक्ने आफैले विश्वास गरेको नेतालाई संसद्को प्रमुख बनाउन चाहेका थिए। त्यसका लागि ओलीले अन्तिमसम्म भरमग्दूर प्रयास गरे।

महराले एमसीसी सम्झौता समयमै संसदबाट अनुमोदन नगर्दा अहिले अनावश्यक झमेला व्यहोर्नु पर्यो भन्ने ठानेका ओलीले फेरि त्यस्तै जटिल मुद्दा आइपर्दा विषयलाई थप जटिल बनाउने होइन आफ्नो इशाराकै भरमा काम गर्नसक्ने विश्वास पात्रलाई सभामुखको आसनमा राख्न चाहेका थिए।

यो त्यहि ‘फ्याक्टर’ थियो जसले सत्तारुढ पार्टीभित्र सभामुखको उम्मेदवार चयन गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच हप्तौं रस्साकस्सी भयो।

अन्ततः माओवादी भागमा परेको सभामुख पदमा आइतबार प्रचण्डको पहिलो रोजाईका सापकोटालाई सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको छ।

‘कहिलेपनि व्यक्तिगत स्वार्थको कुरा नगर्ने, पद पाउन त्यति धेरै नेतृत्वको छेउमा नधाउने तर नेतृत्वको सधैँ रक्षा गर्ने नेता हुन्, अग्नि सापकोटा’, प्रचण्डले आफू निकटका नेताहरुसँग भन्ने गरेका थिए, ‘उनलाई नेतृत्वले उचित समयमा उचित भूमिका दिनेछ।’

रिक्त सभामुख पदमा सापकोटालाई लैजाने निर्णय पार्टी सचिवालय बैठकबाट गराएर प्रचण्डले आफ्नो त्यो बचन पूरा गरेका छन्।

नेकपाका स्थायी समिति सदस्य सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित नेता हुन्।

२०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन बनाएका दुई दलले चुनाव जितेपछि पाँच प्रमुख पदमध्ये राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष एमालेलाई र उपराष्ट्रपति र सभामुख माओवादीलाई भागबण्डा गरिएको थियो।

त्यसपछि २०७५ जेठ ३ गते पार्टी एकता गरि बनेको एकीकृत पार्टीभित्रै सभामुख उम्मेदवारमा सहमती गर्न भने निकै सकसपूर्ण हुनगयो।

सभामुख रिक्त भएको तीन महिना २१ दिनपछि सापकोटालाई उम्मेदवार बनाउने सत्तारुढ नेकपाले निर्णय गरेपछि उनले प्रतिनिधि सभालाई नेतृत्व गर्ने करिब निश्चित एको छ।

सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१४ फागुन २४ गते जन्मिएका सापकोटा पञ्चायतकालमा जनजागृति माविका प्राधानाध्यापक थिए। उनी शिक्षण पेशा छोडेर माओवादी जनयुद्धमार्फत पूर्णकालीन राजनीतिमा होमिएका हुन्।

उनले २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए।

समाजशास्त्रमा स्नातकोत्तर सापकोटा २०५१ सालमै माओवादी जनयुद्धमा सहभागी भएका थिए।

तत्कालीन माओवादी र सरकारबीच २०५९ मा भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य समेत रहेका सापकोटा त्यसयता प्रचण्डका निरन्तर विश्वासपात्रको रुपमा रहिरहेका छन्।

पहिलो संविधानसभा २०६४, दोस्रो २०७० मा सिन्धुपाल्चोक–१ बाट निर्वाचित उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा भने सिन्धुपाल्चोक–२ बाट निर्वाचित बनेका हुन्।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महरा राजिनामा दिन बाध्य भएका थिए। महराको सभामुख पद गुमेपछि नयाँ सभामुख चयन गर्ने विषयमा लामो छलफल भएपनि नेकपाले लामो समयदेखि निर्णय गर्न सकेको थिएन ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले नेकपाकै अर्का नेता सुवास नेम्वाङ र अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन निरन्तर अडान लिइरहे।

तर ओलीले अन्नतः आफ्नो अडान छाडेर पार्टीभित्र एकता र सन्तुलन मिलाउन तयार भएपछि आइतबार सापकोटालाई सभामुखको उम्मेदवार बन्ने बाटो खुलेको हो ।

सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको कार्यतालिका सार्वजनिक हुनेछ। त्यसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछि नेपालको पाँचौ वरियताको पदमा सापकोटा पुग्ने प्रक्रिया शुरु हुनेछ।

यसरी तयार भए ओली
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र स्पष्ट दुईधार देखियो। एमाले र माओवादी केन्द्रबीचमा एकता भएर बनेको नेकपाको सम्पूर्ण एकता प्रक्रिया पूरा नभएको भन्दै पूर्वमाओवादीकै नेताबाट सभामुख बनाउन प्रचण्डलाई दबाब दिइएपछि प्रचण्डले सापकोटाको पक्षमा सुरुदेखि अडान लिएका थिए।

पूर्वमाओवादीको तर्फबाट सभामुख बनाउनुपर्ने अडानमा अध्यक्ष प्रचण्ड टसमस नभएपछि ओली र प्रचण्डबीच केही दिन मनमुटाव समेत भयो।

सापकोटाको बारेमा प्रधानमन्त्री तथा अध्यक्ष ओली सहमती नहुँदा पुस ४ गतेदेखि सुरु हिउँदे अधिवेशनमा सभामुख चयनको प्रमुख कार्यसूची पुस ११, १६ र २७ गते सार्दै सूचना टाँस गरेर स्थगित गरिएको थियो।

सत्तारुढ नेकपाकै अध्यक्षद्वयको विवादका कारण एकमहिनादेखि संसद बन्धक बनाइएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।

प्रचण्डले अडान नछोडेपछि प्रधानमन्त्री ओली सापकोटालाई नै सभामुख बनाउने निर्णय गरेर अघि बढ्न सहमत भएका उनीनिकट स्रोत बताउँछ।

आफूले बनाउन चाहेका नेम्वाङलाई कुनै भूमिका दिएर सापकोटालाई अघि बढाउन ओली केही हप्ता पहिले नै तयार भइसकेका थिए।

तर त्यही बीचमा, अचानक पुस २३ गते अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतम निवास भैंसेपाटीमा छुट्टै भेला गरे। त्यो भेलाले ओलीलाई सशंकित बनायो र समझदारीमा पुगिसकेका ओली र प्रचण्डबीच फेरि एकपटक दूरी बढ्यो।

त्यसपछि ओलीले उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई समेत राजिनामा नगर्न भनी उक्साएको प्रचण्ड निकटका नेताहरुले आरोप लगाएका थिए। ओली र प्रचण्डबीच केही दिन संवादहिनताको स्थिति नै सिर्जना भयो।

नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेलले धेरै पटक दुई अध्यक्षबीच भेटघाट र सन्देश आदानप्रदान गरेपछि मात्र सो संवाहिनता तोडिएको थियो।

आफ्नै नेतृत्वमा सुरु भएको पार्टी एकीकरणको मनोविज्ञान बिग्रन दिन नहुने बाध्यताका कारण सापकोटालाई सभामुख मान्न प्रधानमन्त्री तयार भएको ओलीनिकट एक नेताको दाबी छ।

आइतबार बिहान पनि सापकोटालाई सभामुखको उम्मेदवार चयन गर्नुअघि प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गरेका थिए। जसमध्ये एक थिए, स्थायी समिति सदस्य देबेन्द्र पौडेल। उनीसँग प्रचण्डले आफ्नो अडानबाट तलमाथि नभएको बताएका थिए।

‘नाममा बखेडा झिक्न खोजिएको छ तर म डगमगाएको छैन, अडानमै छु, अडान छोडदिन’, प्रचण्डको आइतबार बिहानको भनाई उद्धृत गर्दै पौडेलले नेपालखबरसँग भने।

आफ्नै पार्टीका अध्यक्षले लिएको अडानमा विवाद गरि संसद बन्धक बनाउँदै जाँदा नकारात्मक सन्देश जाने कुरामा सायद ओली सचेत थिए। दुई अध्यक्षबीच नै विवाद र किचलो लम्बिँदा एकातर्फ एकीकरणको चरणमै रहेको पार्टी पंक्तिमा नकारात्मक सन्देश जान्थ्यो। अर्कोतर्फ विवाद छिटो टुंग्याउन नसक्दा पार्टी र सरकारको मुल नेतृत्वमा रहेका ओलीलाई नै मुख्य अपजस आउँथ्यो। यी कुराहरुप्रति सचेत प्रधानमन्त्रीले दबाब महशुस गर्न थालिसकेका थिए।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पारिलो घाम ताप्दै ओली र प्रचण्डले दुई घन्टासम्म छलफल गरेका थिए। लगत्तै बाहिरिएको त्यो तस्बिरले नै सहमती भैसकेको जनाउ दिएको थियो। केही घण्टापछि बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षको सहमतीलाई अनुमोदन गरेपछि करिब एक महिनादेखिको गतिरोध खुल्यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad