ad ad

राजनीति


ओलीले संसदीय समितिका सभापतिको विषय उठाएपछि रोकियो प्रधानन्यायाधीश सिफारिस

ओलीले संसदीय समितिका सभापतिको विषय उठाएपछि रोकियो प्रधानन्यायाधीश सिफारिस

सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन १६, २०८० मंगलबार १८:३९, काठमाडौँ

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले भावि प्रधानन्यायाधीश सिफारिस गर्ने भनिएपनि सहमति जुट्न सकेन। 

प्रधानन्यायाधीशको कार्यकाल ४ दिन बाँकी रहँदा बसेको संवैधानिक परिषद्को बैठकमा संसदीय समितिका सभापति चयनको विषय उठेपछि प्रधानन्यायाधीश सिफारिस पनि अड्किएको हो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले परिषद्को बैठकमा संसदीय समितिका सभापति चयनको विषय उठाएपछि प्रधानन्यायाधीश सिफारिसको विषयमा सामान्य छलफल मात्र भएको समितिका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। 

‘समिति सभापतिहरू नहुँदा अप्ठेरो परेको भन्दै यो विषय पनि तत्काल टुंग्याउनुपर्ने उहाँ(केपी ओली) को जोड थियो,’ ती सदस्यले भने, ‘सार्वजनिक लेखा समिति लगायतका महत्वपूर्ण समितिलाई लामो समय खाली राख्नु उचित नहुने कुरा उठेको थियो।’

आजै साँझ मन्त्रिपरिषद् बैठक पनि भएकाले धेरै छलफल हुन नपाएको ती सदस्य बताउँछन्। ओलीले प्रधानन्यायाधीश नियुक्तिको विषयमा प्रवेश गर्न नमानेको अर्का एक सदस्यले बताए।

संवैधानिक परिषद्को अर्को बैठक आगामी बिहीबार साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ। आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। 

असार १ गते प्रधानन्यायाधीश नियुक्त भएका हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदैछ।

अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो। 

यो संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ। वरीयताक्रममा अगाडि रहेका उनले हरिकृष्ण कार्कीलाई प्रतिस्थापन गर्नेछन्।

२० गतेसम्म प्रधानन्यायाधीश नियुक्त हुन नसके वरीयताक्रममा अघि रहेका श्रेष्ठ कामु प्रधानन्यायाधीश बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .