ad ad

राजनीति


सभापतिज्यू मेरो पितातुल्य हुनुहुन्छ, पार्टी फुटाउँछु भनेको छैन : गगन थापा

सभापतिज्यू मेरो पितातुल्य हुनुहुन्छ, पार्टी फुटाउँछु भनेको छैन : गगन थापा

नेपालखबर
साउन ८, २०८० सोमबार १९:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०÷३५ वर्षदेखि ४÷५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए।

‘सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०÷३५ वर्षदेखि ४÷५ जना नेतामात्रै म्युजिकल चियर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहेका छन्। त्यसैले पनि मानिसहरू रिसाएका छन्,’ उनले भने, ‘त्यसैले पार्टी परिवर्तन गर्नुुपर्छ। यो कुनै व्यक्तिगत कुरा होइन, सभापतिज्यु मेरो पितातुल्य हुनुहुन्छ। तर म सार्वजनिक रुपमै भन्छु, नेपालको राजनीतिमा यो विषयले प्रवेश पाएन भने र यो व्यवस्था गरिएन भने के हुन्छ?’

उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए। 

‘हाम्रो पार्टीको एउटा पद्धति छ। त्यो पद्धतिबाट पार्टी सत्तामा आउँछ। त्यो पार्टी सत्तामा हाम्रो पकड भएको कारणले गर्दा हामी त्यसको सत्तामा आउँछौँ,’ उनले भने, ‘हामीले घुमिफिरी एक जना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ। मेरो प्रयास जारी हुन्छ। त्यही भएर मैले नेपाली कांग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ। सकिनँ, परिणामलाई मानेँ, मान्नैपर्छ।’

महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए।

‘तर अब गर्नै मिल्दैन त, पार्टीको विधानले गर्न दिन्छ, आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आश नगर्ने हो। मलाई लाग्छ गाह्रो छ, सांसदहरुको मत पाउने कुरा भनेको गाह्रै छ नि। गाह्रो छ थाहा छ, तर गाह्रो छ भनेर ठिक भएको काम छोड्न हुँदैन,’ थापाले अघि भने, ‘सभापतिज्युले यसो एक दुई म्हिनापछि ल यार पाँच पटक भइसकेँ, छैटौँ पटक किन हुने? को हुने हो अघि आउ भनिदिनुहुन्छ की? राम्रै हो। म हुनुपर्छ पर्दैन, जो भएपनि हुन्छ। मैले साथ दिने हो तर कोही अघि नबढ्दा अघि बढ्ने हो नि। साथीहरू किन आत्तिनुभएको? मैले पार्टी फुटाउने कुरा गरेको हो र? मैले त दलको नेता फेर्ने कुरा गरेको हो। सभापतिज्युलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरी बस्ने साथीलाई चिन्तित बनाएको छ। धेरै चिन्ता गर्नुपर्दैन। म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब।’

महामन्त्री थापाले वर्तमान सत्ता गठवन्धनको नेता काँग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .