राजनीति


गगनले सानेपामा भने : कांग्रेस फुटबल खेल हारेको टिम जस्तो भयो

गगनले सानेपामा भने : कांग्रेस फुटबल खेल हारेको टिम जस्तो भयो

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८० सोमबार १७:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी फुटबल खेल हारे जस्तो अवस्थामा पुगेको बताएका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘अहिले कांग्रेस फुटबल हारेको टिम जस्तो भयो। जित्दै नजित्ने अवस्था छ भनिँदैछ। विश्वास नै नभएको जस्तो देखिएको छ’, उनले भने, ‘यस्तो किन भयो? कांग्रेसले पञ्चायतविरुद्ध जनमत संग्रह हार्दा यस्तै निराशा थियो। तर गणेशमान सिंह अघि लागेपछि कांग्रेस जाग्यो, ०४६ सालको आन्दोलन पनि सफल भयो।’

त्यसपछि २०६२/६३ को कालखण्डमा पनि कांग्रेसको त्यस्तै अवस्था रहेको बताउँदै थापाले तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अघि बढाएर यहाँसम्म ल्याएकव बताए। 

अहिले कांग्रेस माथिदेखि तलसम्म सरकारमा हुँदा पनि जनतामा निराशा रहेको उनले बताएका छन्। 

‘तिमीले सुशासन दिन सकेनौँ बेरोजगारी छ, अस्तव्यस्तता छ भनेर जनताले सोधिरहेका छन्’, उनले भने, ‘यो बेलामा कांग्रेस पार्टी आफ्ना कार्यकर्तालाई विश्वासमा लिएर अघि जानुपर्छ। कांग्रेसको एजेन्डा के हो त, सरकारबाट सरकारमा जाने मात्रै गरेर के हुन्छ? अहिले सरकारमा नगई प्रतिपक्षमा बसेको भए देशले के पाउँथ्यो? त्यसैले कांग्रेस सरकारबाट सरकारको गोलचक्करबाट मुक्त हुन सक्नुपर्छ।’

उनले पछिल्लो दिनमा जनतामा चरम निराशा देखिएको महसुस गरेको कुराले आफू आत्तिएको बताए। 

‘युवाहरुबीच मुलुक छाड्ने होड चलेको छ। विदेश जान नपाउनेहरु दु:खी छन्। विदेश जाने खुसी छन्’, उनले भने, ‘जनता चाँडो भिसा मिलाइदिन राजदूतावासमा भन्दिनुपर्‍यो भन्दै आउँछन्। पेशाकर्मी कोही पनि खुसी देख्दिनँ। किन यस्तो भइरहेको छ? सरकारबाट जनताले नतिजा खोजिरहेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .