राजनीति


प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

नेपालखबर
साउन ६, २०८० शनिबार १८:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन्। 

इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए।

उनी कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्। 

लामो समयको अन्तरालमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डसँग उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी इटाली जाँदै छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्ने बताइएको छ।

यस क्रममा उनले खाद्य प्रणालीसहितका एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ। 

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायत संयुक्त राष्ट्रसंघीय कार्यालयका उच्च व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किर्ने कार्यतालिका रहेको छ।

२०१४ पछिको पहिलो भ्रमण
सन् २०१४ पछि दुई देशबीच हुन लागेको यो पहिलो भ्रमण हो। सन् २०१४ मा इटालीका तत्कालीन विदेशमन्त्रो बेनेडेटो डेल्ला भेडोभा नेपाल भ्रमण गरेका थिए।

त्यसयता इटाली र नेपालबीच कुनै पनि उच्चस्तरीय भ्रमण नभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। 

सन् १९५२ मा इटालोसँग नेपालले औपचारिक कूटनीतिक सम्बन्ध गाँसेको हो। विसं २००७ को प्रजातन्त्रपछि इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष विकास सहयोग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .