राजनीति


सत्य निरुपणमा भट्ट र बेपत्ता छानविन आयोगमा सुवेदीको नाम सिफारिस

सत्य निरुपणमा भट्ट र बेपत्ता छानविन आयोगमा सुवेदीको नाम सिफारिस

नेपालखबर
माघ ४, २०७६ शनिबार १०:३६,

सत्य निरुपण तथा मेलमिलाप आयोगको र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षसहित सदस्यहरुको नाम सिफारिस गरिएको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको हो। समितिले शनिबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीको नाम सिफारिस गरेको हो।

सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई आयोगमा भागवण्डा गरेका थिए। जसमा सत्य निरुपण कांग्रेसको भागमा र बेपत्ता छानविन नेकपाको भागमा परेको थियो।

सत्य निरुपणको अध्यक्षमा सिफारिस भएका भट्ट त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक हुन्। हाल त्रिवि अन्तर्गतकै नेपाल ल क्याम्पसमा प्रध्यापनरत भट्ट संविधानविदको रुपमा परिचित छन्।

बेपत्ता छानविन आयोगमा सिफारिस भएका सुवेदी महान्यायाधिवक्ताको कार्यालयमा सचिव स्तरको नायव महान्यायाधिवक्ताको रुपमा काम गरिसकेका व्यक्ति हुन्। उनी केही उच्च अदालतमा न्यायाधीशको रुपमा समेत काम गरेर उमेर हदका कारण निवृत्त भइसकेका थिए।

सत्य निरुपणका अन्य सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ। प्रधान कांग्रेसबाट हुन भने अन्य तीन सदस्य नेकपाबाट हुन्। त्यस्तै बेपत्ता छानविन आयोगमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ। बेपत्ता छानविनमा सफिारिस भएका भण्डारी नेकपाबाट हुन भने अन्य सदस्यहरु कांग्रेसबाट हुन्।

दुई दलको बैठक लगत्तै बसेको सिफारिस समितिको बैठकले नामको टुंगो लगाइ कानुनमन्त्री समक्ष पेश गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .