ad ad

राजनीति


कांग्रेस बैठकमा जितजंगले भने : सुन तस्करीमा गृहमन्त्री र महरा संलग्न छन्, राजीनामा किन नमागेको?

कांग्रेस बैठकमा जितजंगले भने : सुन तस्करीमा गृहमन्त्री र महरा संलग्न छन्, राजीनामा किन नमागेको?

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८० शुक्रबार १३:९, काठमाडौँ


पछिल्लो समय देशमा तरंग ल्याइरहेको अर्बौँको सुन तस्करी प्रकरणले नेपाली कांग्रेसको चार दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाएको छ।

शुक्रबार सानेपमा बसेको बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम पोलेका छन्। 

उनले माओवादी उच्च तहका नेताहरु नै सुन तस्करीमा जोडिइरहेको अवस्थामा त्यसबारे कुरा उठाउन छाडेर कांग्रेस नेताहरु भने एकआपसमा आफैं भिडेर बसिरहेको बताए। 

बैठकमा बोल्ने क्रममा उनले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिँदा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिन जाने कांग्रेस नेताहरुले उनै नारायणकाजी र उपाध्यक्ष महराको विरोध गर्ने आँट नजुटाएको आरोप लगाए। 

उनले यसबीचको एक महिनामै त्रिभुवन विमानस्थल भन्सार हुँदै २९ पटकभन्दा धेरै अवैध सुन भित्र्याइएको दाबी गरे। यसमा गृहमन्त्री श्रेष्ठको कमजोरी रहेको भन्दै राजीनामा माग्नुपर्ने उल्लेख गरे।

‘एक महिनाबीचमा २९ पटकभन्दा धेरै सुन भित्रिएको छ। सनुकाण्डमा नारायणकाजी र कृष्णबहादुर महराको पनि नाम आएको छ। अब हामीले गृहमन्त्रीको राजीनामा माग्न कि नमाग्ने?’, उनले प्रश्न गरे, ‘कांग्रेसभित्र कांग्रेसलाई नै खुइल्याउने प्रवृत्ति बढेको छ। तर सत्ताकै दलका नेताहरुको कमजोरी देखाउन हाम्रा नेताले सक्दैनन्।’

उनले सुनकाण्डमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि नाम आए जिकिर गरे। 

गत जेठ २ गते कार्यक्रम नै गरेर कांग्रेसका केही नेताहरुले रुपान्तरण अभियान थालेका थिए। जुन अभियान २ महिनासम्म चलेको थियो।

त्यसबेला खाँण समातिँदा अभियानका सदस्यहरु का मधु आचार्य र गुरु घिमिरेसहितले गृहमन्त्री श्रेष्ठलाई भेटेर धन्यवाद दिएपछि सभापति शेरबहादुर देउवानिकट नेताहरु निरन्तर विरोधमा उत्रिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .