राजनीति


कांग्रेसका प्रदेश सभापतिहरुको आक्रोश : हाम्रो काम छैन भने खारेज गरिदिए हुन्छ

कांग्रेसका प्रदेश सभापतिहरुको आक्रोश : हाम्रो काम छैन भने खारेज गरिदिए हुन्छ

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार १४:४२, काठमाडौँ

नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने बताएका छन्। 

बुधवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने दाबी गरे।  

उनले यस विषयमा पुनर्विचार गर्नुपर्ने पनि बताए। यादवले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै बाइपास नगर्न आग्रह गरे।

‘मधेश भनेको कांग्रेसको जननी हो। मधेशबाट नेपाली कांग्रेसको जन्म भएको छ। मधेश बलियो जब जब भएको छ, तब तब नेपाली सत्तामा गएको छ। यो हामीले बिर्सनुपर्ने कुरा होइन’, उनले भने, ‘प्रदेश संरचना किन गठन गरियो? सातवटा प्रदेशमा संरचना किन बनाइयो? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीविही बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ।’ 

बरु उनले आफूहरु जिल्लैमा बस्न तयार रहेको बताए। ‘हामी जिल्लाकै संगठन गर्छौं। जे कार्यक्रम भएको छ डाइरेक्ट जिल्लालाई भनिएको छ। प्रदेशलाई बाइपास गरिएको छ। अनलाइनबाट गर्‍यो भने कांग्रेसलाई सिध्याउने काम हुन्छ।
कांग्रेसलाई आघात पर्छ भन्ने मलाई डर लागेको छ’, उनले भने, ‘यसमा सचेत भएर हामी प्रक्रिया मिलाएर अगाडि बढ्नुपर्छ।’

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि जनाए। 

उनले केन्द्रीय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताएका छन्। 

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीबीचमा समन्वय हुन नसकेको बताए। उनले सरकार र पार्टीबीच आपसी सहकार्य हुनुपर्नेमा जोड दिए। 

बानियाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने
आवश्यकता रहेको बताए।

‘आज नयाँ पार्टीहरुले संघीयता र भ्रष्टाचारको मुद्दा उठाएर नयाँ पार्टीहरु मुलुकमा स्थापित भएका छन्। त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि? मुलुकको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि? निर्वाचन प्रणालीले स्थायित्व र गणतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धितिर कमजोरी भयो कि?’, उनले भने, ‘अबको एजेण्डा कांग्रेसले भोलि त्यो बाटोमा जानुपर्ने हो कि? सरकार र पार्टीबीच समन्वय नभएर पनि साथीहरुमा निराशा आएको हो कि? पार्टी र सरकार तल्लो तहदेखि माथिसम्म संवाद र सम्पर्क एकअर्कामा एकता र सहकार्य हामीभित्र काहीँ कमजोरी भएको हो कि?’ 

उनले नेपाली कांग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरिएको बताएका छन्। 

पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरी सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उनले असन्तुष्टि जनाए।

उनले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गरे। 

प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उनको भनाइ छ। उनले जिल्ला समितिहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad