नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले चाहिने बेलामा मल आपूर्ति नगर्ने र त्यसको असर कृषकलाई पार्नु नहुने बताए।
‘चाहिने बेलामा मल नआउने र त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने, जनताको जीवनमा पर्ने जुन स्थिति छ, यसलाई शिघ्र अन्त्य गर्नका निम्ति तत्काल मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति चाल्नुपर्ने कदमका लागि प्रभावकारी रुपमा कदम चालियोस्,’ उनले भने।
कृषि उत्पादनमा असर पर्दा समग्र खाद्य चक्रमा नै असर पर्ने भन्दै सरकारले यसबारेमा समयमा नै सोच्न जरुरी रहेको पनि उनले बताए। रासयनिक मल सार्वजनिक खरिद वा जीटूजीको प्रक्रिया जुनकुनैबाट गरेपनि खरिदका लागि समयसीमा निर्धारण गर्नुपर्ने पनि उनले बताए।
‘हाम्रो माग कति हो, त्यसको आधारमा माग यकिन होस्। सार्वजनिक खरिद वा जीटूजीको प्रक्रियाबाट खरिद गर्छौं, त्यसका निीम्त टाइम बाउण्ड क्यालेण्डर लागू गरौँ र जुन कम्पनीमार्फत हामी खरिद गर्छौं, उनीहरुका निम्ति पनि खरिद गर्ने समयसीमा निर्धारण गर्ने हिसाबले सम्झौता गरौँ। त्यो ढंगले जाँदा समस्या समाधान गर्न सकिन्छ। बजेटको अभाव हुँदैन भन्ने जुन कुरा छ, यो केही हदसम्म समाधान दिएको छ,’ उनले भने।
सांसद पौडेलले रासयनिक मलमा बजेट अभाव हुन नदिनका लागि सरकारले आवश्यक पहलकदमी गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया