ad ad

राजनीति


कोशीमा राप्रपाको सहयोग माग्दै देउवाले खटाए नेताहरु, लिङ्देन अझै अनिर्णित

कोशीमा राप्रपाको सहयोग माग्दै देउवाले खटाए नेताहरु, लिङ्देन अझै अनिर्णित

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १३:४७, काठमाडौँ

कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति सत्ता गठबन्धनमा जुटाएपछि नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न तहका नेताहरु परिचालित गरेर कोशीमा राप्रपालाई आफ्नो पक्षमा ल्याउने पहल थालेका हुन्। 

कोशी प्रदेश सभापति एवम् संसदीय दलका नेता उद्धव थापालाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको कांग्रेसले राप्रपासको साथबिना सरकार बनाउन सक्दैन।

यो अवस्थमा कांग्रेस सभापति देउवाले विभिन्न तहका नेताहरुलाई राप्रपा फकाउन परिचालित गरेका हुन्। 

कांग्रेसबाट नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कोशीमा संसदीय दलका नेता उद्धव थापा पनि राप्रपा नेताहरुलाई फकाउन सक्रिय भएका छन्। 

९३ सांसद रहेको कोशीमा सरकार बनाउन बहुमतका लागि ४७ जना चाहिन्छ। यस्तोमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सहित सत्ता गठबन्धनसँग सांसद संख्या ४६ मात्रै हुन्छ।

६ जना सांसदसहितको राप्रपा यसअघि एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारमा थियो। तर राप्रपाले कार्की नेतृत्वको सरकार ६ महिनामै ढलेपछि आफूलाई खुल्ला गरिसकेको छ।

यो अवस्थामा कोशीमा निर्णायक बनेको राप्रपालाई आफूतिर तान्न कांग्रेसले बल गरिरहेको छ।

‘कांग्रेसका नेताहरु विभिन्न च्यानलबाट हामीसँग सहयोग माग्दै आउनु भएको छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘तर हामीले कोशीको सरकारबारे अहिलेसम्म कुनै निर्णय गरिसकेका छौँ। अध्यक्ष राजेन्द्र लिङ्देन पनि अहिले आन्तरिक परामर्श र संवादमै हुनु हुन्छ।’

कोशीबारेमा निर्णय लिने जिम्मा पनि राप्रपाले लिङ्देनलाई दिएको छ। तर यसअघिका चुनावमा एमालेसँग तालमेल गरेकाले उक्त सहकार्य तोडेर अर्को गठबन्धनसँग मिसिने कुराको निष्कर्षमा पुगिसकेका छैनन्।

कोशीमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनका नेताहरुबाट कुरा आए पनि अझै निर्णयमा पुगिनसकेको बताए। 

‘प्रदेश प्रमुखले दिनुभएको समय अझै पनि छ। त्यसैले हामी आन्तरिक छलफलमै छौँ’, उनले भने, ‘एमालेसँग लामो समयदेखि चुनावी तालमेल भइरहेको छ। त्यस्तो अवस्थामा गठबन्धनतिर जाँदा भोलिको राजनीतिक यात्रा र भविष्यबारे पनि हेर्नुपर्ने हुन्छ। त्यसैले एमालेसँगको सहकार्य पनि नबिग्रिने गरी हामी निर्णय लिन्छौँ।’

स्रोतका अनुसार कोशीमा नयाँ सरकारलाई लिएर राप्रपामा दुई धार देखिएको छ। अध्यक्ष लिङ्देनसहितका नेताहरु एमालेसँगको सहकार्य बचाइराख्नुपर्ने पक्षमा देखिएका छन्। तर वरिष्ठ नेता पशुपति शमशेर जबराहरु कांग्रेससँग सहकार्य गरेर जानुपर्ने पक्षमा देखिएका छन्। 

कोशी प्रदेश प्रमुख परशुराम खापुङले गत १७ गते चार दिनको समय दिएर दुई वा दुईभन्दा धेरै दलको सरकार निर्माणका लागि आह्वान गरिसकेका छन्। खापुङले दिएको समय असार २१ गते अपराह्न ५ बजे सकिनेछ।

यस्तो अवस्थामा त्यसअघि नै सरकारका लागि ४७ जनाको बहुमत पुर्‍याउने कसरतमा कांग्रेस लागेको छ। राप्रपाले साथ दिएमा गठबन्धनसँग ५२ जना सांसद हुनेछन्। जसले सजिलै सत्ता यात्रा हुने आकलनसहित कांग्रेस अहिले राप्रपा फकाउन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .