ad ad

राजनीति


जुम्ला घटनामा बाबुरामको टिप्पणी- मानवताविरुद्धकै अपराध, अर्को एउटा क्रान्ति अनिवार्य

जुम्ला घटनामा बाबुरामको टिप्पणी- मानवताविरुद्धकै अपराध, अर्को एउटा क्रान्ति अनिवार्य

फाइल फाेटाे : डा.बाबुराम भट्टराई र जुम्लामा जलाइएको दलितको घर


नेपालखबर
असार १८, २०८० सोमबार २०:४५, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुम्लामा फेरि अर्को निकृष्ट जातीय भेदभाव र छुवाछूतजन्य अपराध भएको बताएका छन्। 

‘सानो जाति’ भएर आफ्नी बहिनीसँग प्रेम–विवाह गरेको रिसमा जुम्लास्थित तातोपानी गाउँपालिका–४, गिडीखोलाका २२ वर्षीय हिक्मत गिरीले आइतबार (असार १७ गते) स्थानीय २१ वर्षीय मुकेन्द्र नेपालीको घर जलाइदिएका हुन्। 

पीडित परिवारले उजुरी दिएपछि प्रहरीले गिरीलाई हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। 

तर तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको राज्य र राजनीतिको दोहोरो चरित्र हेर्दा यो अक्षम्य अपराध पनि केही दिनमा ढाकछोप र सामसुम हुने आशंका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले गरेका छन्।  

उक्त घटना एउटा दलित युवा र परिवारविरुद्ध गरिएको अपराध मात्र नभएर एक्काइसौँ शताब्दीको उन्नत चेतना, मूल्य/मान्यता र मानवताविरुद्धकै अपराध भएको टिप्पणी उनले गरेका छन्। 

उनले भनेका छन्, ‘तीन हजार वर्षदेखिको शास्त्रको आड पाएको वर्णविभेदको जुन अमानवीय प्रणाली नेपाल र दक्षिण एसियामा जरो गाडेर बसेको छ, त्यसलाई समूल नष्ट गर्न दलित मात्र हैन, सम्पूर्ण मानवतावादी उन्नत चेतना भएका मानिसहरूको संयुक्त पहलमा अर्को एउटा क्रान्ति अनिवार्य भइसकेको छ।’

यस क्रममा दसवर्षे माओवादी सशस्त्र क्रान्तिका एक योद्धासमेत रहेका डा. भट्टराईले माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष पनि गरेका छन्।  

उनले भनेका छन्, ‘हिजो निरन्तर क्रान्तिको स्कुलिङ प्राप्त कण (कमरेड) हरू आज सत्तामा जो हुनुहुन्छ, उहाँहरूको निम्ति यो एक अग्निपरीक्षा हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .