कर्णाली


जब बहिनीले दलितसँग बिहे गरिन्, काठमाडौंमा पढ्दै गरेका दाइले जलाइदिए घर

जब बहिनीले दलितसँग बिहे गरिन्, काठमाडौंमा पढ्दै गरेका दाइले जलाइदिए घर

दिनेश बुढा
असार १८, २०८० सोमबार १६:४३, सुर्खेत

आइतबार (असार १७) गते बिहान करिब ३ बजे, सबै जना मस्त निन्द्रामा थिए। जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलामा रहेको एक घरमा आगलागी भयो। घरमा कोही  नभएका कारण मानवीय क्षती भने हुन पाएन। तर, तीन तलाको कच्ची घर र घरभित्र रहेका सबै सामान जलेर नष्ट भयो।

गिडीखोला गाउँको गिडीचौर बस्ती बीचमा रहेको घरमा आगलागी भएको १ घण्टापछि मात्रै स्थानीयले थाहा पाए। गाउँलेहरु विहानको मिठो निन्द्रामा सुतेका कारण आगलागी भएको तत्काल थाह पाएनन्। घरमा धूवाँको मुस्लो देखिएपछि गाउँलेले निभाउने कोसिस गरे। करिब एक घण्टा ढिला भएका कारण त्यतिन्जेल घर जलेर नष्ट भइसकेको थियो।

घरमा आगो लागेको कुरा गाउँभरी फैलियो। आगलागीको खबर पाएपछि हाँकु चौकीबाट असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

उक्त घर अन्तरजातीय विवाह गरेका २१ वर्षीय मुकेन्द्र नेपालीको थियो। आगो लगाउने व्यक्ति थिए सोही ठाउँका २२ वर्षीय हिक्मत गिरी अर्थात् मुकेन्द्रका जेठान।

के हो घटना?
विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका मुकेन्द्र नेपाली र सोही ठाउँकी किशोरी बसन्ती गिरीले असार १२ गते भागेर विवाह गरे। अन्तरजातीय विवाह समाजले स्वीकार नगर्ने भएपछि उनीहरू भागेर विवाह गर्ने स्थितिमा पुगेका थिए।

मुकेन्द्रका दाइ भरत नेपालीले उनीहरु दुई/तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको बताए। उनले भाइले घरबाहिरैबाट विवाह गरेको नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा भएको कुरा सुन्नमा आएको थियो। तर, दुई तीन महिना अगाडि मात्रै मुकेन्द्र गाउँ बाहिर गएको थियो। मेरो भाइ १२ पास गरेर लोकसेवाको तयारीमा घर बाहिर थियो। उ सँग मेरो भेट नभएको पनि सात/आठ महिना जति भयो।’

भरत कामको शिलशिलामा जुम्ला जिल्लामा बसोबास गर्दछन्। भाइले विवाह गरेको कुरा भरतले असार १३ गते मात्रै जानकारी पाएका थिए। उनले भने, ‘भाइले १२ गते केटीलाई भगाएछ। मलाई माइतीपक्षले १३ गते मात्रै जानकारी दिएपछि थाहा पाएँ। माइतीपक्षबाट केटीको आन्टी नाता पर्ने नारायणी जैशीले जानकारी गर्नुभएको थियो। खोज्नुपर्यो भनेर भन्नुभयो। तर, उनीहरु आजसम्म सम्पर्कमा छैनन्।’

मुकेन्द्र र बसन्ती भागेर अन्तरजातीय विवाह गरेको काठमाडौंमा बस्ने बसन्तीका दाई हिक्मत गिरीले पनि थाहा पाए। अध्ययनका लागि काठमाडौंमा रहेका हिक्मत असार १६ गते मात्रै जुम्ला गाउँमा पुगे। हिक्मतले मुकेन्द्रको घरमा असार १७ गते बिहान आगो लगाइदिए।

भरत नेपालीले भने, ‘मेरो भाइले केटीलाई भगाएपछि मात्रै १६ गते हिक्मत गाउँमा देखिए। उनी काठमाडौंबाट आएका रहेछन्। मादक पदार्थ सेवन गरेर ‘डुमले मेरो बहिनी भगाएर लग्ने?’ भन्ने अभिव्यक्ति दिएका थिए। तर, १७ गते विहानै घरमा आगो लगाएर नष्ट गरिदिएछन्।’

मुकेन्द्र घरको कान्छो भाइ हुन्। घरमा साइँलो दाइ तीर्थ नेपाली र उनी मात्रै बस्ने गर्थे। आगो लगाएको दिन तीर्थ गाउँमै रहेको दिदीको घरमा बास बस्न गएका थिए।

गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदाय छन्। गाउँलेहरू दुवै जनालाई खोजेर ल्याएपछि छलफल गर्ने तयारीमा थिए। यसमा आफू पनि सकारात्मक वातावरण बनाउन तयार रहेको भरतले बताए।

घरमा आगो लगाउनेविरुद्ध जाहेरी
भरतले हिक्मत, उनका बुबा र काकाको विरुद्धमा जाहेरी दर्ता गराएको जानकारी दिए। घरमा आगो लगाउने हिक्मतसहित उनका बुबा श्रीराम र काका नारायण गिरीविरुद्ध जाहेरी दिएको उनले बताए।

उनले भने, ‘यो एक जनाको आँटले मात्रै गरेको घटना नभइ सुनियोजित भएको हुँदा तीन जनाको विरुद्धमा मुद्दा दर्ता गरेको हुँ।’

किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिक्मतसहित उनका बुबा र काका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ३(घ) र उपदफा ४ बमोजिम तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ र उपदफा २(१) बमोजिमको सजायको माग गरि मुद्दा दर्ता गरिएको छ।

यस्तै, केटाकेटीको खोजीका लागि कर्णाली प्रदेशभरिका प्रहरी इकाइलाई जानकारी गराइसकेको जुम्लाका डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

आगो लगाउने हिक्मत पक्राउ
मुकेन्द्रको घरमा आगो लगाउने बसन्तीका दाइ हिक्मतलाई जुम्ला प्रहरीले आइतबार नै पक्राउ गरेको छ। हिक्मतलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको डीएसपी कार्कीले जानकारी दिए। उनकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन्।

हिक्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको हो।

आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .