राजनीति


सत्ता गठबन्धनका असन्तुष्ट दलको माग सम्बोधन गरेर बजेट पास हुँदै

सीकेलाई प्रधानमन्त्रीको फोन- मिलेर बजेट पास गरौँ
सत्ता गठबन्धनका असन्तुष्ट दलको माग सम्बोधन गरेर बजेट पास हुँदै

फाइल तस्बिर


सागर न्यौपाने
असार १२, २०८० मंगलबार २२:८, काठमाडौँ

सरकारले बुधबार बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ। 

मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका छैनन्।

मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। 

यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको स्रोतले जानकारी दियो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘दलहरूले ह्विप नै जारी गर्नुभएको छ।’

कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

जसपाले पनि बजेटका पक्षमा मतदान गर्ने भएको छ, बुधबार बिहान संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरिने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

‘हाम्रो पार्टीले बजेट पासका पक्षमा मतदान गर्छ,’ उनले नेपालखबरसँग भने, ‘बुधबार बिहान १० बजे दलको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्छौं।’

आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता पाएको एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बताए।

‘बालुवाटारमा प्रधानमन्त्रीसहित नेताहरूको बैठकले निर्णय गरेको सुनेँ,’ सांसद थापाले भने, ‘छलफल सकारात्मक भएपछि बजेट पासकै पक्षमा मतदान हुन्छ।’

यस्तै, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि बजेट पासकै पक्षमा मत दिनेछन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बजेट पास गर्ने पार्टीको नीति रहेको बताए। ‘फुलफ्रेजमा बजेट पास गर्न हाम्रा सांसदलाई ह्विप नै लगाएका छौँ,’ भण्डारीले भने।

तर, सरकारलाई समर्थन दिएको जनमत पार्टीले मंगलबार बेलुकासम्म यस विषयमा कुनै निर्णय गरेको छैन।

जनमत पार्टीकी प्रमुख सचेतक अनिता साहले बजेटबारे बुधबार मात्र निर्णय गर्ने बताइन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई सम्पर्क गरेर बजेट पासका पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

‘बजेट मिलेर पास गरौँ, तपाईंहरुको सहयोग रहोस् भनेर पीएम (प्रधानमन्त्री) ले अध्यक्षलाई भन्नुभयो,’ जनमत पार्टीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘जवाफमा हाम्रा अध्यक्ष डा. सीके राउतले दलभित्र भोलि (बुधबार) छलफल गर्छु अनि मात्र निष्कर्षमा पुग्छु भन्ने जवाफ दिनुभएको छ।’

प्रमुख सचेतक साहले बुधबार मात्रै ठोस निर्णय गर्ने बताइन्। 

‘भोलि (बुधबार) बिहान दलको बैठक बस्छौं, त्यहाँ कस्तो कुरा आउँछ हेरौँ, पीएम र अर्थमन्त्रीज्यूले बजेट परिमार्जन गर्छौं भन्नुभएको म्यासेज आएको छ, कस्तो परिमार्जन हो, हाम्रो अध्यक्षज्यूलाई पनि जानकारी होला,’ साहले थपिन्।

मधेश प्रदेश, केही जिल्लामा विनियोजित बजेटप्रति जनमत पार्टी पनि असन्तुष्ट छ।

जनमत पार्टीका नेता बीपी साहले बजेट मिलाउने सम्भावना नभए पार्टीले पक्षमा मत दिने सम्भावना नहुने बताए। यद्यपि बुधबार नै नयाँ समझदारी बन्नसक्ने सम्भावना रहेको उनको भनाइ छ।

अर्थमन्त्रीले बजेट संशोधन नगरी पास हुन्छ भनेर बोलेपछि सत्तारुढ दलहरु नै बिच्किएका थिए। त्यसपछि बिग्रिएको माहोललाई प्रधानमन्त्री प्रचण्ड आफैँ सक्रिय भएर सहज बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .