राजनीति


परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त

परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त

नेपालखबर
असार १, २०८० शुक्रबार २१:२५, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकको कार्य सहजता एवं सुरक्षाका लागि नविनतम् प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा सङ्गोष्ठी फलदायी भएको बताएका छन्।

काठमाडौँमा सञ्चालन भएको सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी समापन समारोहमा उहाँले दक्षिण एसियामै पहिलो पटक  महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएकोमा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त गरे।

परराष्ट्रमन्त्री साउदले विश्व शान्ति स्थापना कार्यमा नेपालले पु¥याउँदै आएको योगदानको स्मरण गर्दै भविष्यमा राष्ट्रसङ्घसँग नेपालको साझेदारी कायम रहने बताए।

संयुक्त राष्ट्रसङ्घ सहयोग कार्य विभाग हेर्ने उपमहासचिव अतुल खरेले सफलतापूर्वक सङ्गोष्ठी आयोजना गरेकोमा नेपाल सरकार र नेपाली सेनाको सराहना गरे। 

उनले नेपालको प्रस्ताव अनुरुप काठमाडौँस्थित लेभल चारको वीरेन्द्र अस्पताललाई सिरियामा सम्बद्ध गराउने विषयमा तत्काल आवश्यक प्रक्रिया शुरु गरिने तथा महिला शान्ति सैनिकले बासस्थानलगायत दुर्गम स्थानमा खटिँदा भोगिरहेका चुनौतीहरुलाई  विशेषरुपले  सम्बोधन गरिने बताए।

डिजिटल रुपान्तरणका लागि प्रयोग गर्ने प्रविधि नाराका साथ असार ३० गतेदेखि आयोजित सङ्गोष्ठीमा अहिलेसम्मकै धेरै विषयविज्ञको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

शान्ति स्थापनार्थ तैनाथ मिशनहरुका लागि आवश्यक प्रविधिको सम्भाव्यता सम्बन्धमा सकारात्मक नतिजा निकाल्न गोष्ठी सफल भएको विज्ञहरुको ठहर छ।

गोष्ठीमा शान्ति सेनाको सुरक्षाको लागि प्रविधिको प्रयोग, एकीकृत प्रशिक्षण र क्षमता निर्माण,  संयुक्त राष्ट्रसङ्घ स्मार्ट शिविर र टेलिमेडिसिनजस्ता विषयमा सहभागी प्रतिनिधिले छलफलपश्चात निकालेका निष्कर्ष आगामी दिनमा उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

प्रधानसेनापति  प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति, राष्ट्रसङ्घका सहायक महासचिवद्वय  बेर्नार्दो मारियानो र मार्था हेलेना,  रक्षा सचिव, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि, राजदूत, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका प्रमुख एवं प्रतिनिधि सो अवसरमा सहभागी थिए।

सङ्गोष्ठीमा विश्वका विभिन्न स्थानमा तैनाथ ११ वटा शान्ति मिशनका प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घका ४२ सदस्य राष्ट्रका प्रतिनिधि तथा विषय विज्ञको सहभागिता रहेको निर्देशनालयले जनाएको छ।

नेपाल शान्ति सैनिक र प्रहरी खटाउने देशहरुको वरियतामा दोस्रो तथा सबैभन्दा धेरै महिला शान्ति सैनिकहरु पठाउने देशको रुपमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad