राजनीति


बजेटको आकार घटबढ नगरी आयोजना परिवर्तन गर्ने सत्ता गठबन्धनमा सहमति

अर्थमा पुगेको छैन आधिकारिक जानकारी
बजेटको आकार घटबढ नगरी आयोजना परिवर्तन गर्ने सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनको बैठक (फाइल तस्बिर)


नेपालखबर
जेठ ३०, २०८० मंगलबार २१:०, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको आकार घटबढ नहुनेगरी संशोधन गर्ने सत्तारुढ दलका शीर्ष नेताहरूबीच समझदारी भएको छ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच केही आयोजनाहरू मात्र परिवर्तन गर्नेगरी समझदारी भएको हो। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असहमति जनाइरहेका बेला प्रधानमन्त्री बजेटमा करेक्सन गरेर जान तयार रहेको बताएका थिए। ‘प्रधानमन्त्रीले सकेसम्म करेक्सन गरेर जाउ भन्नुभएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, जसपा नेता राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए।
  
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार शीर्ष नेताहरूको उक्त सहमतिबारे मन्त्रालयमा आधिकारिक जानकारी भने गराइएको छैन। 

‘बजेटको आकार संशोधन नहुनेगरी आयोजना परवर्तन गर्ने सहमति भएको छ,’ ती अधिकारीले भने, ‘मन्त्रालयमा औपचारिक जानकारी भने गराइएको छैन।’

बजेटलाई लिएर सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि सहमति खोज्नेगरी शीर्ष नेताहरू बैठकमा जुटेका थिए।एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बजेट नसच्याए सरकार ढल्ने सार्वजनिक चेतावनी नै दिएका थिए। 

सोमबार बिहान अन्य ८ जना नेताहरुलाई लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बजेटमा रहेका कमजोरी नसच्याए सत्ता सहयात्राबारे सोच्नुपर्ने अवस्था आउने बताएका थिए।

सरकारको विशेषाधिकार भएकाले बजेट परिवर्तन नगरी जस्ताको तस्तै पारित गर्ने प्रचलन छ। बजेट पारित नभएमा सरकारले विश्वास गुमाएको मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .