प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेल्धुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताए।
‘डडेल्धुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे, नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन्। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ,’ विष्टले भने,, ‘आज विधि र न्याय स्थापित भएन। एउटा भनाई छ–लथालिंग देशको, भताभुँग चाला। जो जसले सक्छ, उसले खाला।’
सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबी समेत गरे।
‘आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ। आज यो सरकारबाट, यो बजेटबाट आशा गर्नु भनेको न्यालको रुप रोपेर स्याउ फलाउन खोज्नु, सुन्तला फलाउन खोज्नु मात्रै हो,’ विष्टले भने, ‘आज यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन।
उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए।
‘यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन। र, एउटा भनाई छ–जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन’, उनले भने।
सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए।
Shares

प्रतिक्रिया