प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटका क्रममा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।
‘भोलि जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटवार्ता हुँदैछ’, उनले भने, ‘त्यसक्रममा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुनेछ।’
उनले यसपटक आफू जनस्तरमा रहेको दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउन भारत भ्रमणमा निस्किएको पनि बताएका छन्।
‘मेरो यो भ्रमणले हाम्रो सम्बन्ध थप उचाइमा पुग्नेछ’, उनले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम राख्ने पक्षमा नेपाल छ। समय समयमा हुने यस्ता भ्रमणले हाम्रो सम्बन्ध थप बलियो हुनेछ।’
उनले सम्बोधनका क्रममा भारतमा रहेका नेपालीको प्रशंसा पनि गरे।
‘संसारका जुनसुकै ठाउँमा रहेका नेपालीले नेपालको छवि उचाइमा पुर्याउन योगदान दिएका छन्’, उनले भने, ‘तपाईंहरूले भारतमा गरेको अध्ययन र जानेको सीप नेपालमा प्रयोग हुनेछ भन्ने विश्वास लिएको छु।’
उनले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुधारमा केही कदमा चालेपछि सकारात्मक नतिजा आएको पनि दाबी गरे।
‘मैले चालेको कदमले अर्थतन्त्र बलियो हुँदैछ’, उनले भने, ‘रेमिट्यान्स पनि बढ्दैछ। विदेशी मुद्रा सञ्चिती पनि बढेको छ।’
यस्तै, प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
जेठ १७, २०८०, बुधबार
117
Shares
प्रतिक्रिया