राजनीति


अमेरिकी साम्राज्यवाद मानवजातिको १ नं दुश्मन : केसी

अमेरिकी साम्राज्यवाद मानवजातिको १ नं दुश्मन : केसी

नेपालखबर
जेठ १५, २०८० सोमबार १९:५८, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘अमेरिकी साम्राज्यवाद’ मानवजातीको दुस्मन भएको बताएका छन्।

राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को सोमबार काठमाडौंमा समापन गर्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन्।

उनले अमेरिकाले नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा सामेल गरिसकेको उल्लेख गर्दै त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई ध्वस्त पार्ने  षडयन्त्र रहेको आरोप लगाए।  

अध्यक्ष केसीले ठूला पार्टीहरुले एमसीसी बोकेर शक्तिराष्ट्रलाई खुसी पार्न खोज्दा राष्ट्रलाई ठूलो नोक्सान पुगेको बताए।

केसीले जनताले ठूलो संघर्ष गरेर १५ वर्षअघि ल्याएको गणतन्त्र फेरि धरापमा परेको बताए।

राष्ट्रहित विपरितको नागरिकता विधेयक अघि बढाउने, भ्रष्टाचार, कुशासन र विदेशीसँग लम्पसार पर्ने दलहरुको प्रवृतिका कारण जनता निराश बनेको र देश अप्ठेरोमा परेको केसीले बताए।

उनले प्रधानमन्त्री बनेपछि प्रमाणपत्र बुझाउन भारत जाने प्रवृतिले देशको स्वाभिमानप्रति अपमानित गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपाली जनताहरुले ठूला राजनीतिक पार्टीहरुप्रतिको असन्तुष्टिका कारण अमेरिकी एजेन्टहरूले जे गरे पनि ठीक छ ठीक छ भनेर ताली बजाउन थालेको र यसले देशलाई युक्रेन बनाउने खतरा रहेको बताए।

उनले रवि लामिछाने नेतृतवको रास्वपा अमेरिकाबाट सञ्चालित पार्टी भएको आरोप पनि लगाए।

जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाको अधयक्षतामा भएको कार्यक्रमलाई राजमो यूवा नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुन, नेता कृष्ण अधिकारी, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीलगायत नेताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए।

जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध जेठ १ गते कञ्चनपुर र बागलुङबाट एकसाथ अभियान सुरु गरेको थियो। बागलुङको टोलीले काठमाडौंमा र कञ्चनपुरको टोलीले बुटवलमा अभियान समापन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad