जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीप्रति जिम्मेवार नबन्ने पदाधिकारी र जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनको सभाहलमा बसेको केन्द्रीय समितिको बैठकपछि अध्यक्ष राउतले सो कुरा बताएका हुन्।
पार्टीको निर्देशन पटक-पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति पार्टीले लिएको पनि उनले बताएका छन्।
‘संगठन संचालनमा आइपरेका विभिन्न समस्याहरूमा छलफल गर्दै अनुशासन कडाईका साथ पालन गराउने, पदमा भए जिम्मेवारी वहन गर्नुपर्ने अन्यथा पद छोड्नु पर्ने, जनप्रतिनिधिहरूलाई कडाईका साथ पार्टी र जनताप्रति उत्तरदायी बनाउने, पार्टीको निर्देशन पटक–पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति लिएको छ,’ अध्यक्ष राउतले भनेका छन्।
प्रतिनिधिसभा सांसद समेत रहेका राउतले जनमत पार्टी अर्को निर्वाचनको लक्ष्य लिएर संगठन सुदृढिकरणमा लाग्ने अगाडिको योजना तथा कार्यक्रम रहेको जानकारी गराएका छन्।
‘जनअपेक्षा ठूलो भएको हुँदा पार्टीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू सो अनुरूप काम गर्नु पर्ने अपरिहार्यता रहेको हुँदा यो केन्द्रिय समिति बैठक साबिकभन्दा अलग स्पष्ट कडा संदेश दिएको छ,’ उउनले भनेका छन्, ‘पदाधिकारी र जनप्रतिनिधिहरू पार्टीप्रति जिम्मेबार बन, या कारबाही भोग।’
प्रतिक्रिया